वराहक्षेत्र : भौगोलिक रूपमा दुर्गम र शैक्षिक रूपमा पछि परेको वराहक्षेत्र नगरपालिका–६ र ९ कोशीपारी क्षेत्रअन्तर्गत श्रीलंका टप्पुमा नगरपालिकाले पशु, कृषि तथा व्यक्तिगतरुपमा आवश्यक पर्ने सरकारी सेवा पहुँचमा पुर्याउने उद्देश्यसहित एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ।
मंगलवार आयोजित शिविरमा पशुपालन गर्ने किसानलाई निःशुल्क औषधीसहित पशु स्वास्थ्य सेवा, खोरेत रोगविरुद्धको खोप, वाली संरक्षण प्रयोगशाला झुम्का, सुनसरीको प्राविधिक सहयोगमा माटो परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। साथै, स्थानीयवासीलाई जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ लगायत व्यक्तिगतर घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता दर्ता नविकरण सेवा पनि सँगै उपलब्ध गराइएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवालका अनुसार प्रशासनिक केन्द्रदेखि टाढा रहेका श्रीलंका टप्पुका बासिन्दालाई सुविधा पुर्याउने उद्देश्यले घुम्ती सिविर सञ्चालन गरिएको हो। पशुमा देखापर्ने रोगको उपचार, आवश्यक औषधि वितरणदेखि लिएर माटो परीक्षण तथा कृषि परामर्शसमेत उपलब्ध गराइएकाले स्थानीय किसानहरू लाभान्वित भएको उनले बताए।
नगर प्रमुख रमेश कार्कीले भाैगाेलिक रूपमा टाढा र सुविधाविहीन समुदायलाई कृषि, पशुपालन तथा सामाजिक सुरक्षासम्बन्धी सेवा घरघरमा पुर्याउने लक्ष्यअनुसार शिविर आयोजना गरिएको उल्लेख गरे। उनका अनुसार शिविरमार्फत पशुपालक तथा तरकारी किसानलाई प्रत्यक्ष सहयोग पुगेको छ भने प्रशासनिक सेवा पनि सहज रूपमा प्रदान गरिएको छ।


































































