इटहरी : इटहरी जेसिजको ३८ औँ शाखा अधिवेशनबाट मिसन पराजुलीको नेतृत्वमा कार्यसमिति चयन भएको छ । आइतबार राती सम्पन्न निर्वाचनको मत परिणाम अनुसार अध्यक्षका प्रत्याशी उम्मेदवार रामकृष्ण खड्कालाई २४ मतको अन्तरले पराजित गर्दै पराजुली निर्वाचित भएका हुन् ।
कुल ११९ मतदाता मध्ये १११ मत खसेकोमा पराजुलीले ६६ र खड्काले ४२ मत प्राप्त गरेका थिए । निक्कै प्रतिस्पर्धात्मक मानिएको निर्वाचनको परिणामले पराजुलीले सहज जित हात पारेका हुन् । पूर्व अध्यक्षहरू समेत एक अर्काको समर्थनमा लागेको निर्वाचनले नयाँ पीढीका पराजुलीलाई नेतृत्वमा पुर्याएको हो ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले समेत चासो दिएको इटहरी जेसिजको निर्वाचनमा उनले समर्थन गरेका खड्का भने पराजित भए । पौडेलका विश्वास पात्र मानिएका पूर्व अध्यक्ष तथा काँग्रेस नेता शिवराज दाहाल खड्कालाई जिताउन भरपुर मेहनत गरे । ४० वर्षको उमेर हदको कारण अर्को पटक उम्मेदवार बन्न नपाउने भएका खड्कालाई समर्थन गर्न मेयर पौडेलले पराजुलीलाई आग्रह गरेका थिए ।
राष्ट्रिय अध्यक्ष बन्ने गरी तयारीमा रहेका पराजुली नेतृत्वको कार्यसमितिको कार्यकारिणी उपाध्यक्ष पदमा प्रमोद घिमिरे र गणेश नेपाल निर्वाचित भए भने सचिव पदतर्फ खगेन्द्र खतिवडाले ७१ मतसहित जित हासिल गरे । त्यसै गरी उपाध्यक्ष विवेक घिमिरेले सर्वाधिक १०६ मत पाए । त्यस्तै स्वेच्छा श्रेष्ठ ९६, अभिषेक भण्डारी ९४ र सुदीप सुवेदी ९० सहित विजय भए । पराजुलीले विधान अनुसार महासचिव, कोषाध्यक्ष सहित केही महत्त्वपूर्ण पदमा मनोनीत गरी कार्यसमितिलाई पूर्णता दिन सक्नेछन् ।
नवनिर्वाचित अध्यक्ष पराजुलीले इटहरी जेसिजका सम्पूर्ण सदस्यहरू बिचमा भाइचारा अभिवृद्धि गर्दै सबैलाई जोडेर अगाडी बढ्ने बाचा गरेका छन् । निर्वाचनमा पराजित भएका सदस्यहरूलाई समेत कार्यसमितिमा समेट्दै संस्थालाई एक ढिक्का बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘समुदायमा जेसीज’ कार्यक्रम देखि युवालाई व्यवसायमा आकर्षित गर्न ‘स्टार्टअप कन्क्लेभ’ जस्ता कार्यक्रम अगाडी बढाउने उनको भनाइ छ ।

































































