धरान: सुनसरी जिल्ला अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ फुटबल प्रतियोगिताको सोमवार भएको खेलमा नेपाल पुलिस र माउन्ट हर्मन विजयी भएका छन् । 
धरान–१७ एन्फा मैदानमा दोस्रो दिन भएको पहिलो खेलमा नेपाल पुलिस स्कुलले बुद्ध आर्दश स्कुललाई ११–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा माउन्ट हर्मन स्कुल, बिजयपुर स्कुललाई २–१ गोलले पराजित गर्दै विजयी भयो । 
प्रतियोगिताको म्यान अफ द म्याच नेपाल पुलिसका समीर राई र माउन्ट हर्मनका सिकुम लिम्बु घोषित भए । उनीहरूले नगद १/१ हजार प्राप्त गरे । 
मङ्गलवार हुने पहिलो खेल ज्ञान कुञ्ज र प्रभात दोस्रो खेल सैनिक आवसिय र सुनाखरी ब्लु  बिच  हुनेछ ।
मङ्सिर १७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार र सेमिफाइनल पुग्ने दुई टिमले जनही ५/५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
साथै उत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिपर,उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र अनुशासित टिमलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सुनाखरी एकेडेमीका रातो र सेतो टिमसहित हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, विजयपुर स्कुल, ज्ञान कुञ्ज विद्यालय, लिबर्टी स्कुल, देउराली बालबालिका विद्यालय, माउन्ट हर्मन स्कुल, सैनिक आवासीय विद्यालय, हिबिस्कस स्कुल,बुद्ध आदर्श विद्यालय, लर्ड बुद्ध स्कुल झुम्का तथा ज्वालामुखी स्कुल पट् नाली सहभागी छन् ।
sunakhari-cup