इटहरी : इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आगामी फागुन ७ गते हुने कोशी एक्सिलेंस अवार्ड-२०२६ का लागि तयारी सुरु भएको छ।
कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान दिइँदै आएको यो अवार्डलाई यस वर्ष अटोमोबाइल, संगीत र क्यापिटल मार्केट गरी तीन नयाँ विधा थप गरेर प्रदान गरिने भएकाे छ।
पहिले नयन एड्भरटाइजिङ मिडियाले सञ्चालन गर्दै आएको कार्यक्रम अब नयन मिडिया फाउन्डेशनमार्फत हुँदैछ। नयन मिडिया फाउन्डेशनका अध्यक्ष पवन अधिकारीका अनुसार अवार्डको संरचना, विधा विस्तार र निर्णायक छनोट प्रक्रियालाई यस वर्ष बढी पारदर्शी र व्यवस्थित बनाइएको छ।
अवार्ड छनोटका लागि पूर्व राष्ट्र बैंक गर्भनर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार र पवन शारडा संयोजक रहने गरी चार सदस्यीय निर्णायक समिति गठन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
अवार्डले कोशी प्रदेश सरकारको ‘भ्रमण वर्ष–२०८२’ अभियानसँगै प्रदेशको पर्यटन, व्यापार र सांस्कृतिक पहिचान प्रवर्द्धनमा टेवा पुग्ने उनले बताए।
गत वर्ष शिक्षादेखि स्वास्थ्य, साहित्य, पर्यटन, बैंकिङ, खेलकुदलगायत दर्जनभन्दा बढी विधामा अवार्ड वितरण गरिएको थियो। यो कार्यक्रम यस वर्ष पनि राष्ट्रिय टेलिभिजनसहित विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ।


































































