इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले दल दर्ता गरेका छन् । उनको दल श्रम संस्कृति पार्टी जनतामाझ परीक्षण नभएपनि साम्पाङ जननिर्वाचीत मेयर हुन् । साम्पाङले श्रम अभियान चलाएर धराने जनतालाई पानी खुवाउने, ऋण गरेर पानी नल्याउने, श्रमको मार्फतबाट विकास गर्ने जस्ता नारा अगाडी सारेका छन् ।

ठेट नेपाली भाषामा बोल्ने गरेका साम्पाङको शैलीलाई सामाजिक सञ्जालमा निक्कै रुचाइएको छ । उनको फेसबुक पेजमा नै ११ लाख बढीले फलो गरेका छन् । त्यससँगै विभिन्न युट्युब च्यानलमा उनी भाइरल छन् । युट्युब च्यालन र फेसबुक पेजको माध्यमबाट आफ्ना सन्देश र गुनासो सुनाउँछन् उनी । 

श्रमदान अभियान गाउँ विकासको पुरानो शैली भए पनि धरानमा २०५४ साल देखि औपचारिक रूपमा नै सुरुवात भएको हो । जसको माध्यमबाट जन सहभागितामा आधारित विकास सुरु भयो । धरानको मुख्य समस्याको रूपमा रहेको खानेपानी र श्रम अभियानलाई साम्पाङले राजनीतिक मुद्दा बनाएका छन् ।

खानेपानी समस्या समाधानको लागि यसअघि खानेपानी मन्त्री प्रदीप यादवले सङ्घीय सरकारबाट ६ अर्बको आयोजना लिएर धरान पुगे । त्यसबेला साम्पाङले भेट दिएनन् । उपमहानगरपालिकाले जम्मा १५ प्रतिशत लगानी गर्नुपर्ने र अन्य रकम सङ्घीय सरकारले अनुदानमा दिन लागेको सो आयोजनालाई साम्पाङले ऋण नलिने भन्दै गलत प्रचार गरे । अन्ततः आयोजना धरान आएन । 

नागरिकले पत्याएका साम्पाङ

यस्ता अनेकौँ घटना छन् जहाँ साम्पाङले सामाजिक सञ्जालको बलमा भ्रम छरिरहेका छन् । तर उनको भ्रमलाई स्थानीय भुँइ मानिसले पत्याइरहेका छन् । अन्य दलहरूका नेताहरूमा भन्दा उनको अभिव्यक्तिमा नागरिकको विश्वास देखिन्छ ।

धरानको बुद्ध चोकमा भेटिएका अटो चालक विरु तामाङ साम्पाङको कामप्रति सन्तुष्ट छन् । धरान १७ का तामाङ सबैले ‘राम्रो काम गरेको छ’ भन्ने सुनेको कारण साम्पाङ मन परेको बताउँछन् । अन्य दलका नेता सँग परिचित नभएका उनले धरानमा साम्पाङलाई मात्र चिनेका छन् ।

सन्तुष्ट हुने तामाङ मात्र हैन भर्खरै विदेशबाट फर्किएर सफारी चलाइरहेका सन्तोष कालिकाटेपनि छन् । पैसा खर्च नगरी श्रमदानमा जनतालाई जोडेको र भ्रष्टाचार नगरेको उनको विश्वास छ । धरानलाई सफा बनाएको र पानी ल्याएर राम्रो काम गरेको उनले बुझेका छन् । कालीकोटेपनि अन्य दलका नेताहरू चिन्दैनन् । साम्पाङको मात्र गतिविधि देखेका उनले नेताको रूपमा केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवालाई मात्र चिनेका छन् । यस पटक साम्पाङ जहाँ उठेपनि भोट दिने लाइनमा छन् उनी । 

हर्क साम्पाङले नेतृत्व गरेपछि धराने जनतालाई पानी खुवाएको बुझाइमा छन् धरानमा २७ वर्षदेखि कुखुरा काटेर विक्री गरिरहेका राकेश फर्की । कुन कामले सन्तुष्ट भएको यकिन भन्न नसकेका उनले टिकटक र फेसबुकमा हेरेर साम्पाङले धेरै काम गरेको बताए । पहिलाका जनप्रतिनिधिबाट दुखी गरिबलाई कर लगाउने देखि पैसा उठाउने काम हुने गरेको सुनाउँदै उनले पुनः साम्पाङको पक्षमा भोट हाल्ने बाचा गरे । अन्य दलप्रति खासै परिचित नभएको उनले नेताको रूपमा विवेक राईलाई मात्र चिनेको सुनाए । 

छाता चोकका छाता ओढेर हिँडिरहेका विद्यार्थीहरू पनि हर्क साम्पाङलाई सामाजिक सञ्जालको आधारमा राम्रो मानिरहेका छन् । अन्य नेताहरूप्रति परिचित नभएका उनीहरू बेरोजगारी, खानेपानी समस्या देखि भ्रष्टाचारको विषयमा साम्पाङ मन परेको बताउँछन् । अन्य दलहरूले यो विषयलाई नबोलेको उनीहरूको बुझाई छ । 

सोही चोकमा भेटिएकी आकृति लिम्बु महेन्द्र बहमुखी क्याम्पसकी विद्यार्थी हुन् । विद्यार्थी नेताहरू समेत नचिनेकी उनी काँग्रेस र एमालेको बारेमा खासै जानकार छैनन् । उनलाई समेत हर्क साम्पाङको अभियान मन परेको छ । 

छाता चोकको चौतारीमा भेटिएका चरनदास राई र पदम राईले साम्पाङलाई चिनेका छैनन् । नरनदास काँग्रेस र पदम एमालेका कार्यकर्ता हुन् । दुवैलाई आफ्ना दलका स्थानीय नेताको बारेका जानकारी नै छैन । उनीहरू दुवै जना सामाजिक सञ्जालबाट देखेको र हल्लाको आधारमा प्रभावित भएका हुन् । 

Harka sampang nirihaसामाजिक सञ्जालले बढाएको भ्रम 

हर्क साम्पाङको काममा सामाजिक सञ्जालमा हेरेर धारणा बनाउने धरानका स्थानीय मात्र हैनन् देश विदेशमा रहेका नेपालीहरू समेत छन् । जसको कारण श्रम अभियानमा करोडौँ रकम मात्र आएको छैन सोही अनुपातमा जिन्सी सामान पनि आएका छन् । 

सो अभियानमा आएको पैसाको हिसाबकिताब सार्वजनिक गर्न उनी हच्किएका छन् । पारदर्शिता र सुशासनको नारा लगाएका साम्पाङले श्रमदानबाट बनेका योजनाको उपभोक्ता समिति गठन गरेर उपमहानगरपालिका बाट भुक्तानी गराएका छन् । त्यस बाहेक आफ्ना आफन्तलाई भर्ती गराएको देखि धरानको खानेपानीमा उल्लेख्य प्रगति गर्न सकेका छैनन् । धरानको खानेपानी समस्या समाधान भए आगामी दिनमा थप एजेण्डा नै नहुने बुझेका उनले धराने जनतालाई ऋणमा नपार्ने भन्दै भ्रमित पारेका छन् । 

साम्पाङले भ्रम मात्र छरेको बुझेका धरान ११ का बजरङ्ग अग्रवाल सन्तुष्ट छैनन् । धरानमा व्यापार व्यवसायको वातावरण बिग्रिँदै गएकोमा चिन्तित उनी ठुला दलमा समेत इमानदार नेता नभएको गुनासो गर्छन् । साम्पाङले आफू इमानदार भएको दाबी गरेर ठुला दलहरूलाई आझेलमा पारेको उनको बुझाइ छ । 

बरगाछी चोकमा स्कुटर चलाइरहेका दुई युवतीले समेत साम्पाङले गरेको विकास फेसबुक र टिकटकको लागि मात्र भएको तर्क गरे । खानेपानी समस्याले धरानलाई अझै सताउने बताउँदै उनीहरूले देखिने गरी केही काम नभएको दाबी गरे । नाम उल्लेख गर्न नमानेका उनीहरू राजनीतिक दलका नेतारुको बारेमा जानकारी नभएको बताउँछन् । 

साम्पाङले सामाजिक सञ्जालकै माध्यमबाट नागरिकमा बलियो प्रभाव पारिरहेको बेला नागरिकलाई स्पष्ट पार्ने आँट ठुला दलहरूले गर्न सकेका छैनन् । जसले गर्दा साम्पाङ प्रति नागरिक थप आकर्षित भइरहेका छन् । काँग्रेस, एमाले, नेकपा लगायत ठुला दलका नगर अध्यक्ष/सभापतिको फेसबुक र टिकटकमा सक्रियता समेत कम देखिन्छ । नागरिकसँग प्रत्यक्ष संवाद समेत नगर्ने दलहरू अप्रत्यक्ष रूपमा सामाजिक सञ्जालमा समेत सक्रिय नहुँदा साम्पाङ ठुलो मैदानका एक्ला खेलाडी भएका छन् ।