धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले झापाका प्रहरी निरीक्षक सुभाष केसीलाई कात्तिक महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।

निरीक्षक केसीले कार्तिक ९ गते झापा अर्जुनधारा-४ दहिझोडा सामुदायिक वनमा शिवसताक्षी-१० का ३३ वर्षीय सरोज शर्मा अपहरण मुद्दाको अनुसन्धान गरी उनको हत्या गरेर शव गाडेको स्थान  उत्खनन गरी शव फेला पारेका थिए ।

अपराधमा संलग्न व्यक्तिहरूको पहिचान तथा निगरानीबाट कात्तिक १३ गते मेचीनगर–१३ सामुदायिक वनमा मृतक सरोज शर्माले प्रयोग गरेको गाडी जलाएको अवस्थामा फेलापारी पक्राउ गर्न सफल भएका थिए ।

उक्त घटनालाई लिएर पीडित र स्थानीय व्यक्तिहरूले आरोपितहरूको घरमा तोडफोड, आगजनी गर्ने प्रयास गर्दा समेत प्रहरी टोलीको नेतृत्व गरी आक्रोशित भिडलाई नियन्त्रण गर्दै अप्रिय घटना धनजनको क्षति हुनबाट बचाउँदै शान्ति सुरक्षा कायम राख्न सफल भएका थिए।

उनको कार्यले विभागीय मूल्य मान्यता, आदेश निर्देशन पालना सहित प्रहरीको मनोबल उच्च राख्ने पदीय कर्तव्य निर्वाहलाई उच्च मूल्याङ्कन गरी २०८२ कार्तिक महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।