वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित चतराधाम, कुम्भ स्थलबाट नेपाल राष्ट्रका प्रथम जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यको नेतृत्वमा १५ दिने बृहत्तर वराहक्षेत्र धार्मिक पदयात्रा शुभारम्भ गरिएको छ।

पदयात्राको प्रारम्भमा वैदिक मन्त्रोच्चारणसहित विशेष पूजाअर्चना गरी जगद्गुरुले देश, धर्म र जनकल्याणका लागि आशीर्वचन दिएका थिए।

१५ दिनसम्म चल्ने यो पदयात्राले सुनसरी, उदयपुर र धनकुटा जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक तीर्थस्थानहरूको परिक्रमा गर्नेछ।

चतराधामबाट सुरु भएको यात्राले सप्तकोशी नदी पार गरी उदयपुरको बेलका नगरपालिका-स्थित महाङ्काल भगवती मन्दिरबाट पहिलो दर्शन गर्नेछ। त्यसपछि यात्रुहरूले कोसोप्पा गङ्गा, मैनाकुट पर्वत, मैनादेवी भगवती मन्दिर लगायतका स्थलमा दर्शन गर्ने कार्यक्रम रहेको छ।

यात्राको क्रममा त्रिवेणीधाम, सफाइटार कामान्चल पर्वतस्थित शिव पाञ्चायन मन्दिर, मूलघाट विश्रान्तिधाम, बेलहरा, सागुरीगढी, नमस्ते झरना, कार्कीछाप, भेडेटार हुँदै धरान आइपुग्ने तय गरिएको छ।

धरानमा शिवजट्टाधाम, वसुधाराधाम, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिर लगायतका प्रसिद्ध शक्तिपीठहरूको दर्शन गरी पदयात्रा तरहरा, इटहरी, वृद्धगङ्गा किनारस्थित विश्वरुपेश्वर महादेव मन्दिर, रामधुनीधाम, रामपुरा, मानपुर सिङ्घिया, प्रकाशपुर, राजाबास, सालबनी, शक्ररुद्र तीर्थ हुँदै अन्ततःवराह भगवानको गर्भगृहमा सम्पन्न हुनेछ।

जगतगुरु बालसन्त मोहनशरणका अनुसार, यो पदयात्रा सन् २०८० सालदेखि शुरु गरिएको धार्मिक अभियान हो। यसको उद्देश्य बृहत्तर वराहक्षेत्र भित्र पर्ने धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरूको प्रचार–प्रसार, संरक्षण र उजागर गर्नु हो।