इटहरी : शुक्रवार दिउँसो इटहरीको सङ्गीत चोक खासै चलायमान देखिएन । अत्यधिक गर्मीको कारण छुटफुट व्यापार भएपनि गतिविधि सामान्य नै थियो । घाम ढल्किँदै गएपछि व्यापारीहरू व्यस्त हुन थाले । बजारमा एक्कासि भिडभाड बढ्यो । दशैको छुट्टी हुने अन्तिम शुक्रवार भएकाले बजार साँझसम्म नै भरिभराउ देखियो ।
बजारको चलायमानता बढेसँगै सवारी व्यवस्थापनको समस्या झनै बढ्यो । बाइक, साना गाडी र सिटी सफारीको एकमुष्ट भिडभाडले पैदल यात्रुलाई समेत सास्ती दियो । पैदल यात्रुको लागी बनाइएको फुटपाथमा व्यापार र पार्किङ भएपछि त्यसको एकमुष्ट असर सटरका व्यापारीलाई परेको छ । लामो समयपछि भर्खरै बढेको व्यापारमा बजार व्यवस्थापन नहुँदा समस्या भएको स्थानीय व्यवसायीहरू बताउँछन् ।
सङ्गीत चोक बजार व्यवस्थापन समितिका सचिव दीपक खड्काले आन्तरिक व्यवस्थापन फितलो हुँदा बारम्बार गाडी जाम हुने गरेको बताए । अघिल्ला वर्षहरूमा नगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले व्यवस्थापन गर्ने गरे पनि यस पटक समस्या बढ्दै गएको उनको भनाइ छ ।
सङ्गीत चोक आसपास मात्रै पाँच वटा बेसमेन्ट पार्किङ सहितका भवन छन् । जनता स्कुलको गल्लीमा भएको ठुलो भवनको बेसमेन्ट समेत खाली छ । सेन्ट्रल प्लाजाको बेसमेन्ट आंशिक प्रयोगमा आएको छ । कुमारी बैक भएको भवन र मगर कम्प्लेक्सको बेसमेन्ट प्रयोगको लागि खुल्ला गरिएको छ ।
त्यस बाहेक इन्टुरिस्ट होटेल प्यालेसको बेसमेन्टमा कपडा व्यापार भएको छ । होटेल इन्टुरिस्ट प्यालेसले आफ्नो व्यावसायिक प्रयोजनको लागि छुट्टै पार्किङ स्थान बनाएको छ । इन्टुरिस्टकै अगाडी रहेको बेसमेन्ट सहितको भवनमा पनि कपडा पसल सञ्चालनमा छ । बेसमेन्टलाई पार्किङ प्रयोजनमा प्रयोग भए सवारी जामको समस्या समाधान हुने स्थानीय व्यापारीको भनाइ छ ।इटहरी उपमहानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्नको लागि एकतर्फी पार्किङको व्यवस्था मिलाएको थियो । नगर प्रहरी परिचालन गरेर सङ्गीत चोक, आइतबारे लगायत क्षेत्रमा सो नीति कार्यान्वयन गर्यो । निषेधित क्षेत्रमा पार्किङ गरे गाडी नै लिएर पालिका पुर्याउने र जरिवाना तिराउन गरेको उपमहानगरले अहिलेको अस्तव्यस्तता देख्न सकेको छैन । जेनजी आन्दोलनको कारण उपमहानगरपालिका कार्यालय ध्वस्त भएको बहानामा बजार व्यवस्थापनको जिम्मेवारीबाट पन्छिएको हो ।
जेनजी आन्दोलनपछि इटहरी उपमहानगरपालिकाले एक जना कर्मचारी सरुवाको लागि कार्यपालिका बैठक बोलायो । कार्यपालिका बैठकमा चाडपर्वको समयमा देखा पर्ने चुनौतीको विषयले प्रवेश नै पाएन । उपमहानगरपालिकाले कालोबजारी देखि अखाद्य बस्तुको विक्रीको अनुगमनमा कुनै प्रयास गरेको छैन ।
उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली नगर प्रहरी परिचालन गरेर बजारको ट्राफिक व्यवस्थापन गर्न सकिने बताउँछन् । सुरक्षा निकायको मनोबल कमजोर भइरहेको अवस्थामा मनोबल बढाएर अगाडी बढ्नुपर्ने उनको धारणा छ । शान्ति सुरक्षाको लागि काम गर्नुपर्ने बेला भएको भन्दै ट्राफिक प्रहरी र जनपथ प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।