धरान : नेपाली सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनको विकसित घट्नाक्रमहरुलाई विश्लेषण गरिरहेको उल्लेख गर्दै आन्दोलनकारीसँग विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन अनुरोध गरेको छ ।
नेपाली सेनाले आज मङ्गलवार साँझ ‘नेपाली सेनाको अनुरोध’ लिखित विज्ञप्ति सामाजिक सञ्जालमा सार्वजनिक गरी जेनजी आन्दोलनकारीलाई अनुरोध गरेको हो ।
विज्ञप्तिमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना रही आएको उल्लेख गर्दै ‘जेनजी आन्दोलनको विकासीत घट्नाक्रमहरुलाई विश्लेषण गरिरहेको’ जनाएको हो ।
विज्ञप्तिमा ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकासीत अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको’ उल्लेख गर्दै यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको स्मरण गराएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘तसर्थ विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।
आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नका साथै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दै विज्ञप्तिमा घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
Nepal Army