नेवा: समुदायको बाजा धाँ लोप हुने अवस्थामा पुगेको छ । लोप हुन नदिई धाँ लाई पुनर्जागरण गर्न धरानमा पासा खल: लागिपरेको छ । धरानको सांस्कृतिक जागरणमा निरन्तर लागेको पासा खलःले नेवार धाँ लाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम सुरु गरेको छ ।
मौलिक नेवारी सांस्कृतिक जागरणमा अर्को फड्को अगाडि सार्दै पासा खलःले जेठ २५ देखी २१ दिने धाँ बाजा प्रशिक्षण प्रारम्भ गरिरहेको छ । नेपालको राष्ट्रियता पहिचानले परिचित समुदायको विशेष पूर्वी भेगमा स्थापनाकाल देखि पासा खल: सांस्कृतिक वाद्यवादनलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यमा लागेको छ । संस्थाका सांस्कृतिक अभियान्ताहरुको निरन्तर प्रयासप्रति स्थानीय सरकार, सङ्घसंस्था र धरानका सांस्कृतिक प्रेमीहरूको ध्यानाकर्षण हुन जरुरी छ ।
धाँ बाजाको इतिहास
कपिलवस्तुमा राजा शुद्धोदनका पालामा मनाइने ‘साल धान्निका’ पर्वमा धा: बाजा बजाउने गरिएको थियो । त्यहाँबाट शाक्यहरू काठमाडौँ आउँदा आफ्ना संस्कृति सँगै लिएर आउने क्रममा धाँ बाजा पनि लिएर आएको पाइन्छ ।
खास गरी बौद्ध धर्मावलम्बीहरूमा प्रचलित ज्यादै पौराणिक ताल बाजा हो । यो बाजा देख्दा ढोल जस्तो लाग्छ । यसमा एकातर्फ हातले र अर्कातर्फ गजोले बजाउने गरिन्छ । काठमाडौँ उपत्यकामा बौद्ध मार्गीहरूको गुँला पर्वमा एक महिनाभर धा: बजाउने चलन छ ।
नेपाल संवत् अनुसार दसौँ महिना गुँला साउन शुक्ल प्रतिपदा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना यो बजा बजाइन्छ । नेवा: संस्कृतिमा मनाइने गुँला पर्वका अवसरमा विशेष धाँ बाजा तथा विभिन्न परम्परागत बाजागाजाका साथ दीप प्रज्वलन गरिने चलन छ । त्यसै साथ प्राकृतिक प्रकोप, विपत्तिहरूका बेला, दिवागत पितृ मोक्ष कामनार्थ बौद्ध चैत्यहरूको परिक्रमा गर्दै धाँ बाजा बजाउने चलन छ ।
अन्य उत्सव तथा चाडपर्वहरूमा पनि धाँ बजाइन्छ । यो बाजा बजाउँदै चैत्य तथा देवस्थल घुम्ने चलन छ । धाँ बाजा सबै भन्दा पुरानो बाजा हो । साथै उपत्यकामा यो बाजा मानन्धर, तुलाधर, शाक्य समुदायहरूले बजाउने गरेको पाइन्छ । तर हाल यसको मोह र रौनक नयाँ पुस्ताको लागि आकर्षण बनेको छ । यसलाई साझा रूपमा जो कोहिले सिक्ने र बनाउँदै संरक्षण गर्दै आएको पाइन्छ ।
नेवार समुदाय र धाँ बाजा
प्राचीन समयदेखि नेपाली संस्कृतिमा धाँ बाजाको विशेष स्थान रहिआएको हामी पाउँछौँ । यसको आकार प्रकारमा फरक भए तापनि उपयोगितामा भने कमी आएको देखिँदैन । नेपाली समाजमा धाँ बाजाको प्रचलन कहिले र कहाँबाट आएको भन्ने विषयमा भने ठोस लिखित प्रमाण नभएको तर नेवार समुदायमा मल्लकालमा धाँ बाजाको प्रचलन बढी भएको सुनिन्छ ।
धाँ बाजा बजाउने प्रचलन आइसकेपछि नेवार समुदायको विभिन्न ठाउँमा यसको विस्तार हुँदै गएको खास गरी नेवा: परम्परामा बढी देखिएको छ । किनभने हरेक चाडपर्वमा नेवारहरू बढी संलग्न हुन्छन् । हुन त नेवार समुदाय बाहेक अरू जातिमा पनि धाँ जस्तै अलिक फरक खालको बाजा बजाउने गरेको पाइन्छ । धाँ बजाउने चलन अनुसार धाँ दुई किसिमको हुन्छ: धाँ र धाँचा । धाँ आकारमा ठुलो हुन्छ भने धाँचा धाँको झन्डै आधा आकारको मात्र हुन्छ ।
धाँ बाजा बनाउने तरिका
धाँ रूखको बीचभागको सिधा जाने रूखको गेडा (गिँड)बाट बनाइएको हुन्छ । गेडाको टुक्रालाई भित्र खोक्रो बनाई छालाले मोडी तान कसेर आवश्यक मसला हाली बनाइन्छ । धाँ दुईतिर बज्छ एकतिर लट्ठीले बजाइन्छ अर्कोतिर हातले गरिन्छ । जसलाई नास भनिन्छ भने लट्ठीले बजाउने तिरलाई हाय्मा अथवा मंका भनिन्छ ।
काठको ढुङ्ग्रोमा छाला मोडेर बनाइने यो बाजाको दाहिनेतर्फ हातले र देब्रेतर्फ काठको गजोले बजाइन्छ । नेवा: भाषामा कुनै पनि सानो चिजलाई पछाडि चा आउने गरी उच्चारण गरिन्छ, जस्तै ठुलो लट्ठीलाई नेवास्मा कछी र सानोलाई कछीचा भने जस्तै ठुलोलाई धाँ र सानोलाई धाँचा भनिएको बुझिन्छ । आजकल धाँ काठको गेडाबाहेक तामा र पितलबाट पनि बनाउने गरेको पाइन्छ ।
लिच्छवीकालमा यसलाई धाँ बाजा नै भन्ने गरिन्थ्यो । मल्लकालमा आएर गुँला महिना सुरु गर्न थालिएपछि यसलाई गुँला बाजा भन्न थालियो । काठमाडौँमा गुँला भनिए पनि ललितपुर र भक्तपुरमा अहिले पनि साध् बाजा नै भन्ने गरिन्छ । बाजा बौद्ध धर्मसँग सम्बन्धित भएकोले शाक्यसहित उपत्यकाका नेवार समुदायमा बौद्ध धर्मावलम्बीहरूले यो बाजा बजाउने गरेका छन् ।
धाँ बाजा देव बाजा
यो देव बाजा हो । यसलाई अरूजस्तो सामान्य समयमा बजाइँदैन, बजाउन मिल्दैन । राखेको ठाउँबाट निकाल्दा समेत पूजा गरेर निकाल्नु पर्ने चलन छ । यसलाई पञ्च दान, सम्यकदान, वहाँ पूजा जस्ता ठुला र अधिक महत्त्व भएका अवसरमा मात्र बजाउने परम्परा छ ।
नेपालको भू–भाग जहाँ नेवार समुदायको बसोबास छ त्यहाँ सृष्टिको सुरुदेखि नै धार्मिक अथवा मनोरञ्जनका साधानहरु थिएनन् । समयको मागलाई विभिन्न ताल वाद्यवादनको सृष्टि गरेर नेवार समुदायले सफलता प्राप्त गर्दै आएको छ । भाषा र व्यवहारमा फरक भएता पनि आफ्नो मौलिकता झल्कने वाद्यहरूका साथ आफ्नो संस्कृतिको परिचय दिइरहेका छन् ।
काठमाण्डौमा धाँ बाजा
काठमाडौँ उपत्यका नेवार समुदायको बसोबास भएको स्थल हो । नेवार समुदायमा आफ्नो जति पनि संस्कृति झल्कने वाद्यहरू छन् ती वाद्यहरू बजाउने तरिका, बोल, ताल र लय फरक फरक भएको पाइन्छ । नेवार समुदायमा पनि स्थानीय भाषा, व्यवहार, रहनसहन र आफ्नो संस्कृति अनुसार फरक भएको अनुमान गर्न सकिन्छ ।
नेवार समुदायमा धाँ बजाउँदा आ–आफ्नै किसिमको लय र बोल अनि तालहरू छन् । भक्तपुरमा आफ्नै किसिमको छ भने उपत्यकाको विभिन्न ठाउँमा पनि आफ्नै किसिमको भिन्नता भएको पाइन्छ । यी फरक हुनुको मुख्य कारण आ–आफ्नै भाषा, संस्कृतिले हुन गएको बुझ्न सकिन्छ । भक्तपुर बाहेक उपत्यकाको विभिन्न ठाउँमा कमै मात्र धाँ बाजा बजाउने गरेको पाइन्छ । भक्तपुरमा धाँ बाजामा बजाउने बोलको नाम यस प्रकार छन् द्यो ल्हाय्गु, न्ह्या, चोप, गुँ आदि । तर धाँचामा भने फरक छ ।
धाँ बाजाको ताल
धा: बाजा ७ वटा तालमा बजाइन्छ । ४ मात्रामा चोप ताल, ७ मात्रामा प्रताप, ७ मात्रामा जति ताल, ८ मात्रामा लताल, १४ मात्रामा ग्रह ताल, १० मात्रामा अस्त्र ताल र ६ मात्रामा पलेमा ताल बजाइन्छ । यी सबै ताललाई एकै पटक बजाउने ग्वारा धा बाजाको मुख्य विशेषता हो । ग्वारामा पनि भगवान् ग्वारा, नित्य नाथ ग्वारा, श्रीकृष्ण ग्वाराजस्ता विभिन्न देवताको स्तुतिसँग सम्बन्धित छन् ।
नेवार संस्कृतिमा धाँ बाजाको महत्त्व बढ्दै गएको छ । प्राचीन समयमा लडाइँको सङ्केत गर्ने बाद्यहरूमध्ये धाँ पनि ठुलो हुने भएकोले युद्धकालमा यसले आफ्नो पक्षतर्फ मनोबल बढाई शत्रु पक्षको मनमा त्रास र भय उत्पन्न गराई उसको मनोबल घटाई दिन्छ भन्ने भनाइ छ ।
त्यस्तै आफूलाई डर लाग्ने कुनै चीज अथवा जङ्गली जनावरहरूलाई धपाउन पनि धाँको प्रयोग भएको बुझिन्छ । त्यसैले यसलाई रणवाद्य पनि भनिन्छ । धाँ बाजा धार्मिक तथा सामाजिक कार्यबाहेक राजनीतिक कार्यमा पनि प्रयोग भएको पाइन्छ ।
चाडपर्व र नेवारी बाजा
नेवा: संस्कृतिमा जनजीवनको विभिन्न अवसरहरूमा धाँ बाजा प्रचलित बाजाहरूमध्ये एक हो, चाहे त्यो अवसर पूजापाठ होस् चाहे चाडबाड, भोजभतेर, व्रतबन्ध, भीम रथ रोहण होस् वा कुनै जात्रा, गाईजात्रा, मनोरञ्जन, खुसीयाली, मेला, समारोह आदि क्षेत्र नै किन नहोस् बिस्तारै प्रचलित हुँदै आएको छ ।
धाँ एकदमै ठुलो स्वरमा बज्ने र यसलाई सङ्गत गर्न धेरै बाजाहरू नचाहिने र तुरुन्तै जतासुकै लान मिल्ने भएकोले पनि अहिले बढी प्रचलनमा आएको देखिन्छ । धाँ बजाउँदा धाँ, सिछ्या र भुछ्या भए पुग्छ । धाँ पोङगसँग पनि बजाउने चलन छ ।
आजभोलि धाँ धार्मिक यात्रा अथवा समारोहमा मात्रै नभईकन हरेक देशी विदेशीहरूलाई स्वागत गर्नको लागि पनि बजाउने गरिन्छ । कुनै होटेलमा समारोह छ भने त्यहाँ स्वागत गर्न उद्घाटनको बेला मङ्गल धुनको रूपमा प्रयोग भएको पाइन्छ ।
अहिले त सांस्कृतिक जुलुसहरूमा पनि बजाउने गरेको पाइन्छ । धाँ बाजा मनोरञ्जनात्मक र सुन्दा नाचौँ नाचौँ जस्तो लाग्ने भएर होला नेपालका अन्य जाति र विदेशीहरू पनि गाईजात्रा नाच्नुको साथसाथै धाँ बाजा सिक्न पनि थालेको पाइन्छ ।
श्रोत: विष्णु बहादुर मानन्धर, काठमाडौँ विश्वविद्यालय उपप्राध्यापक, कृष्ण किसि, भक्तपुर, ओम धौभडेल, संस्कृतिविद्, काठमाडौँ
- सङ्कलक मनोहर शाक्य, नेवा: देय दबू धरानका अध्यक्ष हुन ।