विराटनगर : नेपाली काँग्रेसका प्रभावशाली नेता केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिले राजनीतिलाई व्यवसायीकरण गरिँदै पेशा, व्यवसायको रूपमा पैसा कमाउने माध्यम बनाइएको बताएका छन् ।
नोना कोइरालाको १८औँ स्मृति दिवसमा नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा सोमबार आयोजित नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार समारोहमा उनले भने ‘अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदैछ, राजनीति पेशा, व्यवसाय होइन समाज सेवा हो ।’ उनले पैसै कमाउने अन्य थुप्रै विकल्पहरू भएको बताए ।
नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिँडिरहेको बताउँदै भने ‘तीनै तहको सरकारमा बसेकाहरू अधिकांश व्यक्तिगत स्वार्थमा केन्द्रित भएका छन् ।’
राजनीति गर्नु भनेको समाजसेवा गर्नु भएकोले जनप्रतिनिधिहरू लोभ र लालचमा फस्न नहुने उनको भनाई छ ।
उनले सरकारले सांसदलाई पर सारेर अध्यादेश जारी गरेकोमा आपत्ति जनाउँदै भने ‘संसद् बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याएर सरकारले आमजनतामा आशङ्का बढाएको छ ।’ हतारमा अध्यादेश ल्याएर केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आशङ्का जनतामा परेको उनको भनाई छ ।
संसदमै पेश गर्दा पनि काँग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाइको सङ्ख्या भएको सजिलै पास हुने कानुनलाई संसद् छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठिक नभएको उनको जिकिर थियो ।
वरिष्ठ पत्रकार नेपाललाई पुरस्कार
उक्त अवसरमा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरियो । नेता कोइराला र प्रतिष्ठानकी अध्यक्ष पूनम कोइरालाले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजार सहित सम्मानपत्र प्रदान गरे ।
प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसमा पुरस्कार प्रदान गर्दै आएको छ । काँग्रेस नेतृ स्वर्गीय नोना कोइराला नेता डा.कोइरालाकी आमा हुन । उनले भने ‘नोना कोइरालाले नैतिकता र इमान्दारिताको पाठ सिकाउनु भएको छ, इमान्दारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडि बढ्न सक्दैन ।’
काँग्रेस नेता वसन्त भट्टराईले नोना कोइरालाले पार्टीमा अभिभावकको भूमिका निर्वाह गरेको बताए । उनले भने ‘मन्त्री पदसमेत अस्वीकार गरेर त्यागको राजनीति गर्ने उदाहरण हुन नोना कोइराला ।’
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कोइराला निवासमा पुग्ने जोकोहीलाई नोनाले आफ्नै छोराछोरीको व्यवहार गर्ने गरेको बताए । उनले विपन्न र शहीदका छोराछोरीलाई धेरैलाई डाक्टर, इन्जिनियर बनाएको उनले उल्लेख गरे ।
विराटनगरका मेयर नागेश कोइरालाले भने ‘नोना कोइराला राजनैतिक, धार्मिक, सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो ।’
प्रतिष्ठानकी अध्यक्ष पूनम कोइरालाले विराटनगरको आदर्श, आदर्श बालिका विद्यालयलगायत शैक्षिक संस्थाहरूको स्थापना र विकासमा नोना आमाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् ।
प्रतिष्ठानका उपाध्यक्ष ज्योति आचार्य, महासचिव अमित श्रीवास्तव, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्मा लगायतले नोना कोइरालाको योगदानको चर्चा गरेका थिए ।


































































