धरान : पाँच महिनादेखि तीन वर्षको नाबालक छोरा छोडेर आमा सम्पर्क विहीन भएपछि छोराको बिचल्ली भएको छ ।
धरान-६ पानबारीकी सम्झना थापा गत फागुन ९ गतेदेखि सम्पर्क विहीन भएको उनका ससुरा तेजबहादुर कार्कीले जानकारी दिएका छन् ।
कार्कीले भने ‘मेरो छोरा वैदेशिक रोजगारीमा छ, बुहारी र दुई बाबुहरू छुट्टै बस्थे, अचानक फागुन ९ गतेदेखि बुहारी बेपत्ता भएकी छन् ।’ बुहारी बेपत्ता भएपछि नातिहरू उनले आफैसँग राखेका छन् ।
बेपत्ता भएकी सम्झना थापाको ठुलो छोरा १० वर्षको र सानो छोरा ३ वर्षका छन् । नाबालक छोराहरू छोडेर आमा बेपत्ता भएपछि छोराहरूको बिचल्ली भएको हो । ससुरा कार्कीका अनुसार सानो नातिले अहिलेसम्म आमा बिर्सन सकेको छैन, बेलुकी हुन थालेपछि ममी ममी भन्दै रुन्छ, झगडा गर्छ कसरी बुझाउनु ?
बुहारी बेपत्ता भएपछि उनले विदेशमा रहेका छोरालाई खबर गरेको भए पनि उसले पनि बुहारी सम्पर्कमा नआएको बताएको छोरालाई उद्धृत गर्दै बताए । बुहारी खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन् तर अहिलेसम्म केही पत्ता लागेको छैन ।
माइती, मावली, आफ्ना आफन्त सबै ठाउँ खोज तलास गर्दा समेत केही पत्ता नलागेको कार्कीले बताए । कार्कीले सञ्चारकर्मीहरूसँग भने ‘घरमा हामी दुई बुढाबुढी छौ, नातिहरूको स्याहार चाकर गर्न पनि हामीलाई गाह्रो छ ।’
वैदेशिक रोजगारमा रहेका थापाका श्रीमान् नारायण कार्कीले पनि आफूले धेरै प्रयास गर्दा पनि खोजी गर्न नसकेको बताए । उनले भने ‘हामीबिच त्यस्तो धेरै नराम्रो भनाभन भएको थिएन, सामान्य कुराकानी भइरहन्थ्यो, किन यसरी बेपत्ता भइन् मैले बुझ्न सकिन ।’
इलाका प्रहरी कार्यालय धरान महिला सेलकी प्रहरी हवल्दार बसुन्ता राईले प्रहरीले आफ्नो सबै संयन्त्र परिचालन गरेर खोजतलास गरे पनि पत्ता नलागेको बताइन् ।
उनले भनिन् ‘आफन्तले दिएको हुलियालाई हामीले देशभरी खोजतलासका लागी पठाएका छौ, त्यस बाहेक आफन्तजनहरूसँग सोधपुछ गर्दा पनि पत्ता लागेको छैन ।’








































































