धरान : कोशी नाम खारेजी, पूनःनामांकन संयुक्त सङ्घर्ष समितिको ताप्लेजुङमा भएको बैठकले नयाँ चरणको आन्दोलन आउँदो मङ्सिर २ गते देखी सुरु गर्ने निर्णय गरेको छ ।
बैठकले अबको वार्ता मुख्यमन्त्रीको नेतृत्वमा मात्र दलका नेताहरू सहितको वार्ता टोलीसँग गर्न सकिने निर्णय गरेको छ ।
बैठकपछि जरी विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सरकारले गठन गरेको तथाकथित राजनीतिक तथा शान्ति वार्ता टोलीको सम्बन्धमा कोशी प्रस्तावक राम राना मगरकै नेतृत्वमा वार्ता टोली गठन गर्नु खेदजनक छ। निष्कर्षमा पुग्ने गरी वार्ता गर्ने हो भने बहुमत पुग्ने गरी अस्तित्वमा रहेका दलका नेताहरू सहितको मुख्यमन्त्रीको नेतृत्वमा मात्र वार्ता गर्न सकिने निर्णय गरियो ।’
समितिको बैठक असार १ र २ गते ताप्लेजुङको फुङलिङ बजारमा प्रमुख घटक किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको सभापतित्वमा बसेको जनाइएको छ ।
वक्तव्यमा नयाँ चरणको आन्दोलन मङ्सिर २ गते देशी सुरु गर्ने उल्लेख गर्दै भनिएको छ ‘प्रदेश सरकार र सभाले हाल सम्मको आन्दोलनलाई आवश्यक ध्यान नदिएको कारण कोशी नाम खारेजी आन्दोलनलाई घनभूत तयारीको साथ २०८१ मङ्सिर २ गते आइतबार विराटनगरमा विशाल जनप्रदर्शन सहित नयाँ चरणको आन्दोलन सुरु गर्ने निर्णय गरिएको छ ।’
संयुक्त सङ्घर्ष समितिले ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ पाथीभरामा प्रस्तावित केबलकार निर्माणको विरोधमा चलेको आन्दोलनलाई सक्रिय रूपमा सघाउने निर्णय पनि गरेको छ ।
वक्तव्यमा भनिएको छ ‘मुन्धुम स्थल मुक्कुमलुङ माथि भएको सांस्कृतिक अतिक्रमण र केबलकार निर्माण खारेजीको लागि हाल सङ्घर्षरत मुक्कुमलुङ ताङसीप फाःसिङसंगै प्रदेश नं १ संयुक्त सङ्घर्ष समितिले संयुक्त सङ्घर्ष गर्ने निर्णय गरियो ।’


        
                    
        
                                        
                                                                                                
        
                
                
                
                
        
        
















        
        
















































