विराटनगर : विराटनगर महानगरपालिका वडा १२ का अध्यक्ष हिरालाल कामतले वडाको बजेट विनियोजन गर्दा कमिसन दिने र निकटका मान्छे हेरेर वडा स्तरीय बजेट छुट्याउने गरेको नेपाली काँग्रेस वडा समितिले आरोप लगाएको छ ।
काँग्रेस वडा सभापति हरिनारायण यादवको टोलीले वडा कार्यालयमा कार्यवाहक वडाध्यक्ष कुशेश्वर राजवंशीलाई ज्ञापनपत्र समेत बुझाएको छ । बिहीबार ज्ञापनपत्र बुझिलिन समय दिए पनि वडाध्यक्ष कामत कार्यालयमा उपस्थित भएनन् ।
वडाध्यक्ष अनुपस्थित भएकोमा आपत्ति जनाउँदै सभापति यादवले कामत जिम्मेवारीबाट पन्छिने प्रयास गरेको बताए ।
वडाध्यक्ष कामतले अन्य दल र सङ्घसंस्थाको सल्लाह र सुझाव नलिई बजेट विनियोजन गर्ने गरेको काँग्रेसको भनाइ छ । काँग्रेसले बुझाएको ज्ञापन पत्रमा वडाध्यक्ष कामतले सेवाग्राहीको समस्या नसुन्ने गरेको, वडामै हुँदा पनि कार्यवाहक दिएकोमा आपत्ति जनाएको छ।
कार्यवाहक दिँदा कामतले बाटो बाटोमा आफू अनुकूल सिफारिसहरू तोक लगाउँदै हिँड्ने गरेको, कामतले लगाएको तोकको आधारमा कार्यवाहकले तोक लगाउने गरेका छन् ।
विभिन्न शीर्षकमा छुट्याएको बजेट मिलेमतोमा खर्च गर्ने गरेको दाबी गर्दै ज्ञापन पत्रमा जवाफ माग गरिएको छ । बिजुली बत्तीको बजेट छुट्याए पनि सडकमा बत्ती नलगाई बजेट खर्च गरेको आरोप छ ।
जेठ ११ गते कार्यालय बन्द गरी जनप्रतिनिधि र कर्मचारी घुम्न गएको भन्दै काँग्रेस वडा समितिले विरोध जनाएको छ । वडाबाट हुने सबै काम ठप्प पारेर जनप्रतिनिधि र कर्मचारी घुम्न जानु आपत्तिजनक भएको ज्ञापन पत्रमा छ ।
वडाध्यक्षको गैर जिम्मेवार भई जनभावना विपरीत कार्य गरिरहेकाले काँग्रेसले ज्ञापन पत्र बुझाउनु परेको काँग्रेस वडा सचिव ज्ञानेन्द्र खड्काले बताए ।
वडाध्यक्ष कामत जसपाबाट निर्वाचित वडाध्यक्ष हुन् । कार्यालय बन्द गरेर कर्मचारीसहित केही दिनअघि घुम्न गएपछि वडाध्यक्ष कामतको व्यापक आलोचना भएको थियो ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































