इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान अगाडी बढाएका छन् ।
इटहरीका मुख्य बजार क्षेत्र भएर बग्ने टेङ्ग्रा खोला सफाइ अभियान सुरु गरेसँगै अन्य सार्वजनिक जग्गा खोजबिन अगाडी बढेको हो । 
निवर्तमान मेयर द्वारीकलाल चौधरीले पनि निर्वाचित भए लगत्तै सार्वजनिक जग्गा खोजी अभियान अगाडी बढाएका थिए । त्यससँगै विभिन्न क्षेत्रमा उनी डोजर लिएर भवन तथा टहरा भत्काउन सक्रिय भए ।
इटहरीको मुख्य बजार क्षेत्रमा बग्ने अर्को खेती खोलाबाट उनले अभियान सुरु गरेका थिए । तर खेती खोला अतिक्रमण गरेर बनेको हाम्रो बोर्डिङ स्कुलमा पुगेपछि उनको अभियान स्थगित भयो ।
पछि तत्कालीन घर नक्सा शाखाका इन्जिनियर विकाश भट्टराईको संयोजकत्वमा सार्वजनिक जग्गा खोजविन समिति गठन भयो । सो समितिले समेत खेती खोलाको अतिक्रमण बारे उल्लेख गरेको छ । १५ मिटर चौडाइको खोला साँघुरिएर ३ मिटरको भएको छ । खेती खोलाको जग्गा मिचेर हाम्रो बोर्डिङ मात्र हैन अन्य निजी घर तथा भवनहरू निर्माण भएका छन् ।
इटहरीकै प्रतिष्ठित विद्यालय नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमी (डिभिएम)ले समेत सार्वजनिक जग्गा हडपेको आरोप छ । सार्वजनिक जग्गा हडपेको भन्दै सो जग्गामा तत्कालीन मेयर चौधरीले २०७५ मङ्सिरमा जनता पार्कको शिलान्यास गरे । मुख्यमन्त्री शेरधन राईले आउने भनिएको कार्यक्रम स्थानीय सय बर्षीया भानुभक्त लम्सालको प्रमुख आतिथ्यमा शिलान्यास भयो ।
२०७६ सालमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जनता पार्क निर्माण सुरु नभई स्थगित भयो । बारम्बार सार्वजनिक जग्गा खोजविन अगाडी बढाएका उनको अभियान सफल हुन सकेन । सो विद्यालयले जग्गा मिचेको विषयमा बनेको प्रतिवेदन इटहरी उपमहानगरपालिकामा सुरक्षित छ । उपमहानगर प्रशासनले लामो समय भएकाले खोज्न समय लाग्ने बताएको छ ।
टेङ्ग्रा खोलाको जग्गामा बनेको इटहरी नमुना कलेजको क्यान्टिनमा भने यस पटक पनि कुनै असर परेको छैन । तथापि मेयर पौडेलले सार्वजनिक जग्गा खोजविनलाई अगाडी बढाउने उद्घोष गरेका छन् । हालसम्म खोला सरसफाइमा सीमित रहेको अभियान कहिले सुरुवात हुने प्रष्ट भएको छैन ।
यसअघि प्राविधिक टोली खटाएर इटहरीको खोला तथा पैनीको क्षेत्र नाप्ने काम सम्पन्न भइसकेको छ। प्राविधिक रिपोर्ट अनुसार नै खोला तथा पैनी उत्खनन गर्ने बताए पनि बर्खाको कारण अभियान स्थगित हुन सक्ने आशङ्का गरिएको छ ।