धरान : ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ धार्मिक स्थलमा केबुलकार योजनाको विरोधमा रहेको सङ्घर्ष समितिले त्यहाँ सशस्त्र प्रहरीको बेसक्याम्प राख्ने सरकारी कदमको पनि विरोध गरेको छ ।
केबलकारको योजनालाई बलपूर्वक लागु गर्न पाथीभरा मुक्कुमलुङ क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प राख्न लागेको उनीहरूको भनाई छ ।
पाथीभरा मुक्कुमलुङ क्षेत्रमा हात हतियार सहित गएको सशस्त्र प्रहरीको टोलीलाई मङ्गलवार राती १० बजे सङ्घर्ष समितिका युवाहरूले रोकेर फिर्ता पठाएको समितिले जनाएको छ ।
उक्त घटना लगत्तै आज बिहीबार काठमाडौँ लगायत पूर्व लिम्बुवानका जिल्लाहरूमा विरोध सभा आयोजना गरियो ।
धरान भानुचौकमा भएको विराधे सभामा किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष डा.कमल तिजेलाले भने ‘मुक्कुमलुङमा सशस्त्र प्रहरीसँग जम्का भेटा हुँदा स्थिति तनावपूर्ण बनेको थियो ।’
रुख काटने हतियार सहित पुगेका सशस्त्र प्रहरीको टोलीलाई युवाहरूले आन्दोलन शान्तिपूर्ण भएकोले फर्कन आग्रह गरेको उनले बताए । तिगेलाले भने ‘विरोध हुँदा हुँदै सरकारले जबरजस्ती सरकारले सशस्त्र प्रहरी लगाएर हस्तक्षेप गर्न खोजेको विरोधमा आज देशव्यापी विरोध सभा आयोजना गरिएको हो ।’
मुक्कुमलुङ सरोकार समिति धरानको आयोजनामा भएको विरोध सभामा जसपा लिम्बुवान समितिका केन्द्रीय अध्यक्ष जेन्टल लावतीले सरकारको कदमको भर्त्सना गर्दै कुनै पनि मूल्यमा मुक्कुमलुङको मौलिकता विनाश गर्न नदिइने बताए ।
छातीमा प्लेकार्ड लिएर भानुचौकमा उभिएर प्रदर्शन गरेका सहभागीहरूले केबुलकारको विरोधमा नाराबाजी गरेका थिए ।
सभामा सरोकार समितिका संयोजक नरप्रसाद लिम्बु, पहिचानका लागि युवा समूहका संयोजक राजुके राई, राष्ट्रिय जनमुक्ति पार्टीका सुहाङ राई, ताप्लेजुङ सरोकार समाजकी चन्द्रमाया लिम्बु लगायतले केबुलकार र सशस्त्र प्रहरी वेश क्याम्पको विरोध गरेका थिए । सञ्चालन सागर सरगम लिम्बुले गरेका थिए ।



































































