विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले सङ्घीय सरकारसँग सहकार्यसँगै  सङ्घर्ष पनि गर्ने बताएका छन्।
उनले भने ‘पुरातन सोचले हामी अगाडि बढ्न सक्दैनौँ, हामीले योजनाका साथ जानुपर्ने हुन्छ, त्यसैले अहिलेको सरकारले सङ्घीय सरकारसँग समन्वय मात्रै नभई प्रदेशका अधिकारहरू स्थापित गर्न सङ्घर्ष पनि गर्दछ ।’
मङ्गलवार विराटनगरमा स्थानीय तहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटनमा मङ्गलवार मुख्यमन्त्री कार्कीले संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्नेमा जोड दिँदै उक्त कुरा बताएका हुन् ।
सरकारी संयन्त्रहरू दिगो विकाशका लक्ष्यअनुसार काम गर्नुपर्ने बताउँदै उनले भने ‘कनिका छरे जस्तै बजेट छर्ने परिपाटी अन्त्य गर्दै छौँ, प्रदेशले कति सम्मका कार्यक्रम गर्ने, सङ्घले कति र स्थानीय तहले कति गर्ने भन्ने कुरामा मापदण्ड बनाउनुपर्छ ।’
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको प्रमुख आतिथि रहेको कार्यक्रममा मुख्यमन्त्रीले सङ्घीय सरकारले पनि साना योजनामा बजेट नछरोस् प्रदेशले त साना योजना कटौती गरिसकेको बताए ।
मुख्यमन्त्री कार्कीले सभापतित्व गरेको कार्यक्रममा सङ्घीय मन्त्री अनिता देवीले तीनै तहको सरकार बिच समन्वय भए मात्र विकासले गति लिन सक्ने बताइन् । उनले भनिन् ‘स्थानीय सरकारले अब कसरी अघि बढ्ने भनेर एउटा रोडम्याप बनाउन जरुरी छ ।’ 
विनियोजित बजेट समेत स्थानीय सरकारबाट खर्च हुन सक्ने अवस्था सिर्जना नहुनु योजना तथा तयारीको अभाव भएको उनको भनाई थियो ।
प्रदेश सरकारका प्रमुख सचिव डा.दीपक काफ्लेले कतिपय सङ्घीय कानुन निर्माण हुन नसक्दा साझा अधिकार सूचीमा रहेका अधिकारहरूको प्रयोग हुन नसकेको बताए । कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, स्थानीय तहका प्रमुख, सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।