धरान : तिहारको अवसरमा शनिबार भएको धरान नगर स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगीताका उपाधि नरेन गुरुङ र राजकुमार आङबुहाङको जोडिले चुमेको छ। प्रतियोगिता अमर सेवा समाजले आयोजना गरेको हो ।
धरान-१३ अमरहाट स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा नरेन-राजकुमारको जोडीले सङगेन राई र धनबहादुर चेम्जोङको जोडिलाई १८-२१,२१-१८ र २१-१९ अङ्कले पराजित गर्दै उपाधि चुमेका हुन ।
प्रतियोगितामा प्रथम हुने नरेन र राजकुमारको जोडिले नगद १० हजार पुरस्कार प्राप्त गरेको छ । दोस्रो हुने साङगेन र धनबहादुरको जोडिले नगद ५ हजार ५ सय पुरस्कार प्राप्त गरेका छन् ।
भक्त राई र धनेन्द्रसेर राई तथा मणि चाम्लिङ र राज राईको जोडी संयुक्त तेस्रो स्थानमा रह्यो । उनीहरूले नगद ३ हजार पुरस्कार प्राप्त गरे ।
भेट्रान डबल तर्फ नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा र श्याम लिम्बुको जोडी प्रथम भएको छ ।
लामाको जोडिले दोर्ण राई र धनमोल राईको जोडीलाई १८-२१, २१-१८, २१-१९ अङ्कले पराजित गरी प्रथम स्थान हासिल गरेको हो । उपाधि विजेता लामाको जोडिले नगद ५ हजार सहित एउटा भाले पुरस्कार प्राप्त गरे ।
दोस्रो स्थानमा रहेका दोर्ण राई र धनमोल राईलाई नगद ३ हजार सहित भाले पुरस्कार प्रदान गरियो । विजेता खेलाडीलाई आयोजक अमर सेवा समाजका अध्यक्ष भूमिराज लिम्बु र संयोजक याङ्ला शेर्पा लिम्बुले पुरस्कार वितरण गरेका थिए ।