धरान : धरान खानेपानी बोर्डबाट हाल वितरण भइरहेको खानेपानीमा जनस्वास्थ्यका लागि हानिकारक मलमूत्रबाट मिश्रित ‘फिकल कोलिफर्म’ रहेको परीक्षण रिपोर्टप्रति ध्यानाकर्षण गराउँदै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरानका १२ राजनैतिक दलहरूले ३ दिनभित्र परीक्षण रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन् ।
धरानका प्रमुख राजनीतिक दलहरूको टोलीले मेयर साम्पाङलाई मङ्गलवार उनकै कार्यकक्षमा ५ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन । दलहरूले उपमेयर आईन्द्र विक्रम बेघा, खानेपानी बोर्डका कार्यकारी निर्देशक, बोर्डका सचिव राजु पोख्रेललाई पनि ध्यानाकर्षण पत्र बुझाएको छ ।
कोलिफर्म जीवाणु भएको पानीले मानव स्वास्थ्यमा गम्भीर असर हुने विज्ञहरूको भनाई छ । धरानमा पानीको कारण डेङगु सङ्क्रमण सँगै फैलिएको टाइफाइड, झाडापखाला, आँखा पाक्ने, जिउ चिलाउने बिरामी बढेको स्थितिले महामारीको रूप लिने उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा भनिएको छ ‘तत्काल खोला खोल्सीबाट ल्याएको पानी ट्रिटमेन्ट नगरी वितरण गर्नु खानेपानी वितरण सामान्य विधि विपरीत छ ।’
शुद्धीकरण नगरी वितरण गरिएको खानेपानी ३ दिन भित्र परीक्षण रिपोर्ट सार्वजनिक गर्न माग सहित ५ मुख्य माग ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
१. हरेक महिना खानेपानीको परीक्षण गरी रिपोट सार्वजनिक गरियोस् ।
२. तत्कालै पानीको ट्रिटमेन्ट गरी पिउन योग्य पानी वितरण गर्न धरान उपमहानगरपालिकाबाट पहल गरियोस् ।
३.धरानको खानेपानीका सबै मुहानको संरक्षण तोकिएको मापदण्ड अनुसार तत्काल गरियोस् ।
४. मुहान क्षेत्रमा मानवीय गतिविधि तत्काल बन्द गरियोस् ।
५. धरान खानेपानी व्यवस्थापन बोर्डको सञ्चालन प्रभावकारी रूपमा गर्न नगर प्रमुखको हैसियतले भूमिका खेलियोस् ।
ज्ञापन पत्र बुझ्दै मेयर साम्पाङले पानी परीक्षणको रिपोर्ट आफूलाई विश्वसनीय नभएको बताए । उनले भने ‘मलाई फेल खुवाउन सर्दु खर्दु, निशाने र कोकाहाको भन्दै पानी बोच्नेहरुले पानी बोच्नलाई काली खोलाको पानी पो परीक्षण गरिएको हो कि ?’
पानी विज्ञहरूसँग छलफल गरेर सुधार गरिने
उनले उपमहानगरपालिकाले र खानेपानी बोर्डले आफै पानी परीक्षण गर्ने बताए । पानीलाई शुद्धीकरण गर्न पानीलाई कोलोरिफिकेसन गर्दै आएको दाबी गर्दै भने ‘पानी विज्ञहरूसँग छलफल गरेर सुधारका काम गरिने छ ।’
उनले राजनैतिक दलहरूलाई सर्दु जलाधार क्षेत्र भित्रका जग्गामा बस्ती बसाउने, जग्गा किनबेच गर्ने कुखुरा फर्म सञ्चालन गर्ने जस्ता कुरा रोक्नमा सबै एक भएर लागी पर्न अनुरोध गरे । खानेपानी मुहान क्षेत्रमा दिशा पिसाब गर्ने काम रोक्न नगर प्रहरी तैनाथ गरेर राखेको र गाडी रोकेर दिसा पिसाब गरे फाइन लगाउने गरेको उनले बताए ।
ट्रिटमेन्ट गरेर वितरण गर्न थालिएको छ : उपमेयर बेघा
उपमेयर बेघाले भने ‘खानेपानीको परीक्षण गर्नका लागि आधिकारिक निकाय खानेपानी बोर्ड भएकाले मेयर तथा बोर्ड अध्यक्ष साम्पाङ र बोर्ड निर्देशक राजु पोख्रेल सँग छलफल भएको छ ।’ खानेपानी शुद्धीकरणका लागि ट्याङ्की मापदण्ड अनुसार बिहान र बेलुका ट्रिटमेन्ट गरेर वितरण गर्न सुरु गरिएको उनले बताए ।
उपमेयर बेघाले भने ‘परीक्षण आधिकारिकता प्रदान गर्न प्रक्रियामा जानु पर्छ भनेर छलफल गछौं ।’ स्थानीय सरकारको वैधानिक निकाय बजार अनुगमन समितिको प्रमुख आफै भएको बताउँदै उनले भने ‘शुद्ध खानेपानीको व्यवस्थापन गर्ने काम खानेपानी बोर्डको भएकोले ध्यानाकर्षण पत्रको रूपमा आएको सल्लाह सुझाव ग्रहण गर्ने जिम्मेवार भएर लाग्ने छौँ ।’
निर्देशन पाए परीक्षण हुन्छ : बोर्ड निर्देशक
बोर्ड निर्देशक राजु पोख्रेलले निर्देशन प्राप्त भएपछि वितरण भइरहेको खानेपानीको परीक्षण गरिने बताए । पानीका सबै स्रोतहरूको खानेपानी सङ्कलन गरी नेपाल सरकारको मान्यता प्राप्त प्रयोगशालाबाट परीक्षण गरिने उनको भनाई थियो । उनले खानेपानी बोर्डको बैठक बसाउन नसकेकोले अध्यक्ष नै कार्यकारिणी भएको अवस्थामा बोर्ड चलेको जानकारी दिए ।
रिपोर्ट सार्वजनिक भएको ७ दिन बितिसक्दा पनि उपमहानगरपालिका किन चुपचाप ?
राजनैतिक दलबाट नेपाली काँग्रेस धरान सभापति श्याम पोख्रेलले भने जनताप्रति दलहरू बफादार र उत्तरदायी रहेको बताउँदै भने ‘राजनैतिक दलले पानीमा राजनीति गर्यो भन्छ भने राजनैतिक दलले पानीमा राजनीति गर्नु छैन र आवश्यकता छैन ।’ पार्टी र संस्थाले उठाएको कुरा विश्वास नलागेको भए तत्काल २४ घण्टा भित्र परीक्षण किन नगरिएको हो ? भनी प्रश्न गरे ।
सभापति पोखरेलले भने ‘राजनीतिक दल, संस्थाले गराएको परीक्षण रिपोर्टलाई गलत साबित गर्न उपमहानगरपालिकाले आफै परीक्षण गराएको भए अहिले सम्म परिणाम आई सक्ने थियो ।’ खानेपानी परीक्षणको रिपोर्ट सार्वजनिक भएको ७ दिन बितिसक्दा पनि उपमहानगरपालिका र खानेपानी बोर्डले परीक्षण किन गरिएको हो भन्ने पोखरेले प्रश्न थियो ।
उनले खानेपानी जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले र हाल सम्म उपमहानगरपालिकाले जबाफदेहिता नदेखाएपछि बाध्य भएर राजनैतिक दलहरू आवश्यकता र कर्तव्य सम्झेर ध्यानाकर्षण गर्न आएको बताउँदै पोखरेलले भने ‘पानीमा राजनीति गर्न आयो कसैले भन्छ भने राजनीतिक दललाई पानीमा राजनीति गर्ने आवश्यकता छैन ।’
खानेपानी बोर्ड अस्तव्यस्त रहेको बोर्डका वैधानिक सदस्यहरूको अस्तित्व स्वीकार नगरेकोले बोर्ड पनि आफै धरान उपमहानगरपालिका पनि आफै बनाएर मेयर साम्पाङले बोर्डलाई पोन्डुलम बनाएको आरोप लगाए । यसरी पद एकीकृत गरेर समस्या समाधान भन्दा समस्या उत्पादन गरिएको बताउँदै पोखरले उपमेयर बेघालाई चनाखो भएर अगाडी बढ्न आग्रह गरे ।
ध्यानाकर्षण पत्रमा नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा एमालेका नगर अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र नगर उपाध्यक्ष सम्फर तामाङ, जनता समाजवादी पार्टी नगर अध्यक्ष ताजुब लिम्बु, नेकपा एस नगर अध्यक्ष रेवतीरमण राई, राप्रपा धरानका कावा अध्यक्ष दोर्जे शेर्पाको हस्ताक्षर छ ।
हस्ताक्षर गर्ने पार्टीहरूमा राष्ट्रिय जनमुक्ति पार्टी धरान सचिव सिताराम राई, नागरिक उन्मुक्ति पार्टी संयुक्त धरानका संयोजक अर्जुन खड्का, सलोराम धरान अध्यक्ष मोहन तिगेला, क्रान्तिकारी कम्युनिस्ट पार्टी धरान इन्चार्ज पारस सुब्बा, किरात खम्बुवान साझा पार्टी धरान गम बहादुर राई, विवेकशील साझा पार्टी केन्द्रीय प्रतिनिधि सुदन श्रेष्ठ रहेका छन् ।
संयुक्त मागपत्र जिल्ला स्वास्थ्य कार्यालय सुनसरी, खानेपानी डिभिजन कार्यालय इटहरीलाई समेत बोधार्थ गरी बुझाइएको छ ।








































































