धरान : कोशी राजमार्गको तरहरा देखी धरान तिनकुने सम्मको ६ लेन सडक निर्माणको काम एकै लटमा ठेक्का लागे पनि तरहरा पानी पिया देखी सेउती पुल खण्डको काम सम्पन्न भएको छैन ।

सडकको उक्त खण्ड समयमा पुरा नहुँदा धुलो, उबड खाबडले सवारी र यात्रीहरूले कठिन र दुर्घटना सम्मको जोखिममा उठाउँदै आएकाले यथाशिघ पुरा गर्न माग सहित सुनसरी उद्योग वाणिज्य सङ्घले सडक योजना कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

सङ्घका अध्यक्ष विजय श्रेष्ठको नेतृत्वमा गएको टोलीले इटहरी स्थित रानी विराटनगर इटहरी धरान सडक योजना कार्यालयमा बुधवार ज्ञापनपत्र दर्ता गराएको हो ।

समयमा उक्त सडक नबन्दा सर्वसाधारण यात्रु, सवारीका साथै उद्योगी व्यवसायीहरूले आर्थिक क्षति समेत व्यहोर्नु परिरहेको ज्ञापनपत्रमा उल्लेख छ ।

भनिएको छ ‘बाटामा भएका खाल्डा खुल्डीमा उद्योगी, व्यवसायीले खरिद गरी ल्याएको र विक्री गरी पठाएको सामानहरू टुटफुट भई, नष्ट भइरहेको, सवारी साधनहरू पनि खाल्डा खुल्डीका कारण विग्रीने गरेकोले ढुवानी गर्नेहरूले धरान पुर्‍याउन नमान्ने गर्दा व्यापार व्यवसायमा कठिनाई समेत परेको छ ।’

एके पटक ठेक्कामा लागेको भएपनि यस क्षेत्रको काम अझै सम्पन्न नभएको विषयमा स्थानिय सरकार इटहरी नगर पालिकासँगको छलफलमा निर्माण कम्पनीले चाँडै सम्पन्न गर्ने प्रतिबद्धता जनाएपनि यती लामो अवधि सम्म कामको गतिमा कुनै सुधार नभएकोमा सडक कार्यालयलाई ध्यानाकर्षण गराइएको छ ।

समयमा काम सम्पन्न नभए वर्षा याममा सडकका कारण हुनसक्ने क्षतिको जिम्मा सम्बन्धित निकायले लिनु पर्ने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ ।

sunsari-chamber-letter