धरान : स्थानिय सरकार धरान उपमहानगरपालिकामा उत्पन्न विवाद र समस्याको समाधान गर्न मेयर हर्क साम्पाङकै नेतृत्वदायी भूमिका आवश्यक रहेको मेयरको चुनावमा उनका प्रमुख प्रतिस्पर्धी रहेका नेपाली काँग्रेसका नेता किशोर राईले बताएका छन् ।
बिहीबार साँझ स्थानिय पत्रकारहरू सँगको भेटघाटमा उनले बजेट तर्जुमा गर्ने बेलामा वडाध्यक्षहरू सँग विवादका कारण कार्यपालिका बैठक बस्नै नसको 'डेडलक' लाई तत्काल अन्त्य गर्न मेयर साम्पाङ आफ्नो नेतृत्वदायी भूमिका देखाउनु पर्ने आवश्यकता भएको बताएका हुन ।
यसको लागि मेयर हर्क साम्पाङले म नै सबै थोक हुँ भन्ने प्रवृत्ति त्यागेर अघि बढ्नु पर्ने बताउँदै राईले भने ‘वडाअध्यक्षहरुको ठुलो एजेन्डा छैन, उनीहरूको माग पूरा गरेर मेयरले स्वयमनै नेतृत्व लिएर समस्याको समाधान गर्न अघि बढ्नु पर्छ ।’
एक्लो प्रयासले धरानको सर्वाङ्गीण विकासका काम सबै पुरा हुँदैन । त्यसको लागि सबै पक्षको सहमति, सहकार्य जरुरी हुन्छ । सबैको मनमा बस्न ‘सियो भएर पस्न सक्नुपर्छ, फाली भएर सबैको मनमा पस्न नसकिने’ उनको भनाई छ ।
कार्यपालिकाका जनप्रतिनिधिहरूको छलफलको आधारमा बजेट बनाउनु पर्ने समयमा घरको झगडा नमिली छिमेकी सँग झगडा गर्नु जानु उचित नभएको उनले बताए । यस्तो समयमा छिमेकी नगरपालिकाहरू सँग सिमानाको विवाद निकाल्नु ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ भने जस्तो भएको उनको भनाई छ ।
बजेट तर्जुमा समिति र राजस्व परामर्श समितिको बैठक बस्न नसकेको अवस्था विद्यमान रहेको बताउँदै उनले कर्मचारीले मात्र बजेट बनाएर नहुने उनले बताए । उपमहानगरपालिकाको आय कसरी र कहाँ बाट बढाउन सकिन्छ भन्ने कुरा राजनैतिक दल, बुद्धिजीवी, धरानवासी उद्योग, व्यवसायीहरूको संस्थागत परामर्श लिनु जरुरी हुने उनको भनाई छ ।
लामो समय कोरोना समस्या भोगेका धरानेका समस्या जटिल भएको उल्लेख गर्दै व्यापारी, व्यवसायी, उद्योगी धमाधम सटर बन्द गरेर बसाई सार्न थालेको बताए । उनले भने ‘तर धरानका मेयर खानेपानी भन्दै दौडिएका छन् ।’ खानेपानीको काम पनि विधि प्रक्रिया अनुसार डिपिआर अनुसार अघि बढाउनु पर्नेमा जोड दिदैं उनले भने ‘धरानको विकास र समृद्धिको पाटो छोडेर खोला खोल्सा कुदेर मात्र हुँदैन ।’
उनका अनुसार खानेपानी बोर्डमा ५ जनाको कार्यसमिति हुने प्रावधान छ । तर दलबाट कोही नभएको भएकाहरू उपभोक्ता समिति, उद्योग वाणिज्य सङ्घ, संस्थागत प्रतिनिधि रहेको स्पष्ट गरे । खानेपानीको विषय भएकाले उपमहानगरपालिकाकै प्रमुख अध्यक्ष हुनुपर्ने मेयर साम्पाङले दाबी गर्नु भएको बताउँदै उनले भने ‘उहाँले दाबी गरे सगसगै वैधानिकता पाउन पनि बैठक त बोलाउन पर्यो ।’
खानेपानी बोर्डको बैठकै नबसी भएका खानेपानीको कामहरूमा प्रश्न उठ्नु अस्वाभाविक नभएको उनको भनाई छ । उनका अनुसार खोला खोल्सीबाट स्रोत बटुल्नु राम्रो हो । कोकाहबाट ल्याएको पानी धरानलाई पर्याप्त नहुने भएकाले खानेपानीको दीर्घकालीन समाधानका लागि तमोर मात्र उचित रहेको बटाए ।
कोशीबाट धरानमा पानी ल्याउन एडिबी आउनु भन्दा पहिले पहल भएको स्मरण गराउँदै उनले कोशीबाट पानी ल्याउँदा निकै ठुलो धनराशि लाग्ने र तत्काल पूरा नहुने, सेतो बालुवा थिगरको रूपमा आउने र त्यसले मानवीय स्वास्थ्यमा ठुलो असर पार्ने भएकाले भूमिगत पानीलाई उपयोग गर्ने टुङ्गो लागेको स्पष्ट गरे ।








































































