धरान : कोशी प्रदेश नमाङकन खारेज गरी पहिचान जनित पुनः नामाङ्कनको माग सहित आज आव्हान गरिएको आम हडतालमा हस्तक्षेप गर्दै प्रहरीले झापाको विभिन्न स्थानबाट प्रहरीले २५ जनालाई गिरफ्तार गरेको छ ।
प्रहरीद्वारा पक्राउ गरिएको आन्दोलनकारीहरूमा झापाको बिर्तामोडबाट मित्र लिङ्देन, विनोद न्यौपाने, निर्मला लिङ्देन, देउमान हाङ लिम्बु, राज खम्बु, गौरीमान राई, कुमार साम्यु र सामी पालुङवा छन् । झापाकै काँकडभिट्टाबाट ओम प्रकाश खापुङ र श्रवण मेचे छन् ।
झापाको दमकबाट प्रेमदिप थाम्सुहाङ, रोशन तुम्बापो लिम्बू, महेन्द्र चाम्लिङ राई, बेनु कुमार लिम्बु, दीपक लिम्बू, बन्दना नेम्बाङ, अबि चेम्जोङ, योगेश मादेन, डिग बहादुर मादेन, श्याम मादेन, महेन्द्र चाम्लिङ राई र याम लोरिङ्देनलाई प्रहरीले पक्राउ गरेको छ । 
झापाको चारआलीबाट यलम्बर खम्बु, झापाको काँकडभिट्टाबाट ओमप्रकाश खापुङ र पवन मेचेलाई प्रहरीले पक्राउ गरेको प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले जनाएको छ । 
शान्तिपूर्ण आन्दोलनको अधिकार माथि भएको प्रहरी हस्तक्षेपको भर्त्सना गर्दै संयुक्त सङ्घर्ष समितिद्वारा आजै प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ ‘प्रदेश नं १ को नामकरणको सवालमा जनताको माग र प्रदेशको ऐतिहासिक सांस्कृतिक बहुल पहिचानलाई बेवास्ता गर्दै अत्यन्तै षडयन्त्रमूलक रूपमा, गोप्य र  नियोजित तरिकाले पञ्चायती शैलीमा कोशी नामकरण गरी जनताको माग र पहिचानलाई निस्तेज गरिएको प्रति पुनः नामाङ्कन गराउन जनताको तर्फबाट आयोजना गरिएको शान्तिपूर्ण आम हडतालमा सहभागीहरूलाई प्रहरी प्रशासनले धरपकड गरेकोप्रति घोर भर्त्सना गर्दछौँ ।’ 
पक्राउ गरिएकाहरू लाई बिना सर्त तुरुन्तै रिहाइ गर्न गर्दै यसबाट सिर्जना हुनसक्ने परिस्थितिको जिम्मा सम्बन्धित सरोकार हुने चेतावनी दिँदै विज्ञप्तिमा भनिएको छ ‘पक्राउ परेकाहरूलाई बिना सर्त तुरुन्तै रिहाइ गर्न सम्बन्धित सरकार र सरोकारवाला निकायमा माग गर्दछौँ, अन्यथा यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा नेपाल सरकार र सरोकारवाला निकाय जिम्मेवार हुने जानकारी गराउँदछौँ ।’
विज्ञप्तिमा प्रदेश नं १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डेकेन्द्रसिंह थेगिम, आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्लाल्जे शेर्पा, किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खा सहअध्यक्ष ज्ञानबहादुर राईले हस्ताक्षर गरेको छन् ।
Giraftar-andalon