धरान : सुनसरी क्षेत्र न १ प्रदेश सभा (ख) बाट प्रत्यक्ष उम्मेदवारी दिएका सूर्यध्वजावाहक युवा नेता विजयकुमार राईले विष्णुपादुका लगायतका पहाडी क्षेत्रलाई भौतिक पूर्वाधारले जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

उनले आफूलाई चिप्लो कुरा गर्न नआउने बताउँदै आफ्नो विजयपश्चात् पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवार राईले विष्णुपादुकाको  कृषि उत्पादनलाई विकाससँग जोड्ने वचनबद्धता व्यक्त गरे ।

"चुनावको समय छ, धेरै उम्मेदवार यसो गर्छौ, उसो गर्छौँ भन्दै आउँछन् होला, तर मलाई चिप्लो कुरा गर्न आउँदैन, मेरो सबैभन्दा पहिलो प्राथमिकता विष्णुपादुकालाई पूर्वाधार विकासयुक्त बनाउने र कृषि उत्पादनलाई स्वरोजगारसँग जोड्ने लक्ष्य छ" उम्मेदवार राईले भने, "तपाईहरुले निर्वाचित गरेर पठाउनुस्, तपाईँको मतको अवमूल्यन हुन दिने छैन, प्रतिबद्धताबाट पन्छिने छैन ।"

विष्णुपादुका हावापानी सौन्दर्यता राम्रो रहेको तर पूर्वाधार विकासका दृष्टिले पछि परेकाले यो क्षेत्रलाई पूर्वाधार विकासले जोड्न मात्र सके यहाँको पर्यटनको विकास हुन सक्ने बताए । उम्मेदवार राईले नीति निर्माणसँगै निर्वाचन क्षेत्रलाई विकाससँग जोड्ने बताए ।