सुनसरी : नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदारविरुद्ध काठमाण्डौका विवेक अधिकारीले निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।
'गच्छदारले २०४८ सालदेखि पटक पटक त्यस क्षेत्रबाट निर्वाचित हुँदा राज्य शक्ति पद र पैसाको व्यापक दुरुपयोग गर्दै जनतालाई धम्क्याउँदै डर त्रास र प्रलोभन देखाएर निर्वाचन जितेको र मतगणनामा व्यापक धाँधली समेत गरेको भन्दै सर्वोच्चमा मुद्दा विचाराधीन छ,' उजुरीमा भनिएको छ, ‘निजमाथि लागेको आरोप फैसला नहुन्जेल निर्वाचनमा भाग लिन रोक लगाइयोस्।’
उजुरी पत्रमा भ्रष्टाचार मुद्दा लागेसगैं विकास बजेटको रकम समेत आउन नसक्ने र फेरी गच्छदारले नै जिते थप ५ वर्ष क्षेत्र नम्बर ३ का आमजनता सांसद विहीन हुने समेत उल्लेख गरिएको छ । यसले गर्दा विकासमा पछि पर्ने बताउँदै उम्मेदवारी खारेजीको माग गरिएको पत्रमा अधिकारीले उल्लेख गरेका छन् । 
निर्वाचन आयोगमा उजुरी परेपनि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उक्त उजुरी पत्र आइनसकेको सुनसरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिए । उनले कुनै पनि उम्मेदवार विरुद्ध उजुरी गर्नु परे सम्बन्धित उम्मेदवारका प्रतिस्पर्धी वा उनका निकट व्यक्तिहरूबाट उजुरी आउनु पर्ने कानुनी व्यवस्था रहेको र अन्य कुनै व्यक्तिले उजुरी हाल्दैमा तत्काल लागु नहुने समेत अधिकृत पौडेलले बताए ।
bijay-ujuri