इटहरी : नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बद्री नारायण चौधरीले सुनसरी २ (क) बाट प्रदेश सभा सदस्यको लागी स्वतन्त्र उम्मेदवारी दिएका छन् । आइतबार साँझ फेसबुक पोस्ट मार्फत आफ्नो उम्मेदवारी बारे प्रस्ट पारेका हुन  ।
२०७० सालको संविधानसभा निर्वाचनको उम्मेदवार भएका उनी नेकपा एमालेका रेवतिरमण भण्डारी सँग पराजित भएका हुन् । २०२७ साल देखी विद्यार्थी आन्दोलनमा होमिएका चौधरीले पार्टीको विभिन्न जिम्मेवारीमा काम गरिसकेका छन् ।
प्रदेशसभा निर्वाचनको लागि पार्टीबाट सिफारिस भए पनि गठबन्धनको नाममा स्वेच्छाचारी विभेदकारी निर्णय भएको कारण उम्मेदवारी दिएको उनले बताएका छन् । माथिल्लो तहको मात्रै स्वार्थ निहित अविवेकपूर्ण  कदमले पार्टी बलियो नहुने र पार्टी अझै कमजोर हुने उनले प्रस्ट पारेका छन् । 
गठबन्धनको यस निर्णयले बर्षौ देखि रूख छापमा भोट हालेर जिताउने हजारौँ मतदाताको चित दुखेको उनको भनाइ छ । 
सुनसरी २ (क) मा चौधरी जस्तै असन्तुष्ट नेपाली काँग्रेस इटहरी उपमहानगरपालिका २ का वडा सभापति दीपेन्द्र घिमिरेले पनि उम्मेदवारी दिएका छन् । उता नेकपा एमाले बाट रेवतिरमण भण्डारी र काँग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट माओवादी केन्द्रका द्वारिकलाल चौधरीले उम्मेदवारी दिएका छन् ।