धरान : सुनसरीका फोटो पत्रकारहरूलाई दशैं लागेको छ। नेपाल फोटो पत्रकार महासङ्घले आज पत्रकार महासङ्घको भवनमा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेर यसको सङ्केत दिएको हो । शुभकामनाका बिच बदलिएको समयमा फोटो पत्रकारिता र मोबाइल फोटोकारीताका बारेमा सहभागीहरूले चर्चा गरे ।
पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले व्यक्ति, परिवारका गतिविधिदेखी धार्मिक कार्य, चाडपर्व सबै तस्बिर र चलचित्रमय भएको छ। यो लहरमा नजिक आएको नेपाली पर्व दशैंका तस्बिरहरूले अहिले देखी नै सञ्जाल रङ्गिन थालेको छ । दशैं फोटाहरूका दशैं, टिकटकहरूका दशैं हुने प्रायः पक्का छ । मोबाइल हुनेहरूले यो अवसरलाई चुकाउने छैनन् ।
नयाँ पुस्ताका व्यवसायीक फोटो पत्रकारितामा यो अवस्था अवसर र चुनौती दुवै हो । दशैं सहित चाडपर्व, अवसरहरू अविश्मरणीय बनाउन तस्बिरको महत्त्वपूर्ण भूमिका हुन्छ । फोटो पत्रकार तथा सञ्चार माध्यमको तस्बिरले आम सञ्जाल प्रयोगकर्तालाई प्रभाव पार्ने सके त्यसले प्रयोगकर्तामा सकारात्मक सन्देश दिन सक्दछ । वरिष्ठ पत्रकार हर्ष सुब्बाले भने ‘नयाँ पुस्ताका फोटो पत्रकारका लागि यो प्रतिस्पर्धाकै स्थिति हो ।’
फोटो पत्रकारका महँगा क्यामरा सँग अहिले मोबाइलले प्रतिस्पर्धा गरिरहेको स्थिति बनेको प्रेस चौतारीकी अध्यक्ष सुभद्रा प्याकुरेल बताइन् । फोटो पत्रकारको हितका लागि महासङ्घ प्रतिबद्ध रहेको पत्रकार महासङ्घ प्रदेश १ सचिव देवेन्द्र कार्कीको भनाई थियो । महासङ्घ सुनसरीका पूर्व सभापति राजेश विद्रोहीले बदलिँदो समय अनुसार फोटो पत्रकारहरूमा सिर्जनात्मक क्षमता बढ्नुपर्नेमा जोड दिए । सभापति विकास चाम्लिङ राईले फोटो पत्रकारलाई पत्रकारै नमानिने अवस्था अहिले नभएको पनि उनीहरूले समान सुविधा नपाएको बताए ।
शुभकामना कार्यक्रममा प्रेस युनियनका सुनसरीका कावा अध्यक्ष सञ्जीव वाग्ले, धरान समन्वय समिति अध्यक्ष मात्रिका प्रसाद नेपाल, पत्रकार महासङ्घका पदाधिकारी फोटो पत्रकारहरूको सहभागिता थियो ।
कुनै जमानामा चाडपर्वका बेलाको फोटो खिच्न फोटा स्टुडियो पुग्नु पर्ने स्थिति थियो । क्यामराको सहज बढेपछि गाउँघरमा फोटोग्राफर डाकेर फोटो खिचाउने चलन पनि आयो । पत्रिकामा फोटो छापिनु ठुलो कुरा मानिन्थ्यो । ती सबै कुरा किन गरिन्थे भन्ने कुराको औचित्य अहिले इतिहास बनेका ती फोटाहरू र पानाहरूले पुष्टि गर्दछ ।
पछिल्लो कालखण्डमा आएको प्रविधिले हात हातमा क्यामरा सहितको मोबाइल पहुँच बढाएको छ । मानिसहरू कुनै पनि क्षणको तस्बिर खिच्न सक्छन् । तर तस्बिरको महत्त्व र संवेदनशीलता घटेको छ । हिजोआज मोबाइलमा भच्र्युअल एल्बम बनाएर राखिए तापनि प्रिन्ट गरेर फ्रेमा सजाएर राख्ने चलन घट्दै गएको छ ।









































































