धरान : सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा एक धरानका एक युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हाल काठमाडौँ माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेको प्रहरीले जानकारी दिएको छ। उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
टोखा नगरपालिका-८ जाल्पाचोक भुवनेश्वर मार्गमा ज्ञानेन्द्रले काठमाडौँ माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीय महिलाको घाँटीमा लगाएको पहेँलो धातुको सिक्री तानेर भागेका थिए।
सो सूचना पाएलगत्तै प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनलाई तीन थान सिक्रीसहित पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।