धरान : पूर्व वाणिज्य मन्त्री, प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्मा नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभाको सचेतक जस्तो गरिमामय पदमा नियुक्ति भएकोमा शनिवार धरानमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल सरकार प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुख डा.गोविन्द तुम्बाहाङले धरानबाट विभिन्न दलबाट मन्त्री भएता पनि पहिलो पटक नेता विश्वकर्मा प्रतिनिधि सभाको सचेतक हुनु सिङ्गो धरान काँग्रेस र धराने जनताको लागि खुसीको खबर भएको बताए । साथै नेता विश्वकर्माले प्रतिनिधि सभाको सचेतकको रूपमा धरानलाई केन्द्रीय मन्त्रालयका मन्त्रीहरुसंग जोडेर धरानको विकासमा केही हद सम्म भए पनि टेवा पुर्याउन सक्ने समेत तुम्बाहाङले बताए ।
नेता विश्वकर्माले उपस्थित कार्यकर्ताहरूबाट प्राप्त शुभकामना र सम्मानले अझै आफूमा काम गर्ने हौसला थपिएको बताए । जुन किसिमले नेकपा एमालेले एमसीसी, एसपीपी रसिया र युक्रेनको बिषयलाई अनि नागरिकता बिधेयक ऐनलाई नकारात्मक रूपमा जनता माझ भ्रम छर्ने काम गरेको छ त्यसलाई आम नेपाली कांग्रेसले चिरेर अगाडि बढ्न समेत नेता विश्वकर्माले आग्रह गरे । लामो समय देखि राज्यको एकात्मक शैलीले विभेदमा परेका मधेसी समुदायले समेत अब आउने नयाँ नागरिकता बिधेयक ऐनले गर्दा न्यायको महसुस गर्ने विश्वास समेत प्रकट गरे ।
सो सम्मान कार्यक्रमको आयोजना नेपाली कङ्ग्रेसका युवा नेता प्रेम मुकारुङ राईले गरेका थिए भने नयाँ नागरिकता बिधेयक ऐन पास भएको दिन सिङ्गो धराने काङ्ग्रेसले दीप प्रज्वलन गरेर अन्याय र विभेदको अन्त्य भएको खुसीयाली मनाउनु पर्ने मुकारुङले बताए ।


































































