धरान : जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले राष्ट्रिय परिचयपत्र वडा स्तरबाटै वितरण गरिनुपर्ने लगायतका चार बुँदे माग सहित धरान उपमहानगरपालिकाका मेयर र उपमेयरलाई छुट्टाछुट्टै भेटेर ज्ञापन पत्र बुझाएको छ ।
बिहीबार पार्टीको धरान उपमहानगरमा उपलब्ध अध्यक्ष ताजुप लिम्बु सचिव शम्भु राई सहित प्रदेश स्तरीय नेता सहितको एक टोलीले मेयर हर्क साम्पाङ र उपमेयर आईन्द्र विक्रम बेघालाई ज्ञापन पत्र बुझाएको हो । पार्टीले राष्ट्रिय परिचयपत्र वडास्तरबाट उपलब्ध गराउन, फोटो सहितको मतदाता नामावली सङ्कलन इलाका प्रशासन कार्यालयमा जनशक्ति अभाव भई दैनिक पचास भन्दा बढीको काम नहुँदा स्थानीयले सास्ती भोगेको, चिन्डे डाँडामा बनेको भ्यु टावरले पहिरोको जोखिम भएको र सुकुम्वासीलाई धनिपुर्जाको लागि तत्काल पहल गर्न माग गरेको छ ।
ज्ञापन पत्र बुझेपछि मेयर र उपमेयरले चारै वटा बुँदामा गम्भीरता देखाएका छन् । सुकुम्वासी समस्याको लागि कार्यपालिकामा छलफलको एजेन्डा राखेको तर दल भित्र थप छलफल गर्नुपर्ने माग राखेको कारण अर्को कार्यपालिका बैठकमा लगिने कुरा मेयर उपमेयरले बताए । भ्यु टावरको विषयमा अघिल्लो दिनमा पनि कुरा लिएर आएको मेयरले जानकारी दिए । उपमेयर बेघाले सुकुम्वासीलाई धनिपुर्जा वितरण गर्न सुनसरी जिल्लामा नै धरानबाट वितरण गर्ने लक्ष्य रहेको बताए ।
ज्ञापन पत्र बुझाउन पार्टीका प्रदेश सदस्य तेन्जिङ शेर्पा,उपाध्यक्ष हेमराज जिमी सहसचिव सिता राई, सुमन चेम्जोङ, कमला रुम्दालि लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।










































































