इटहरी : नेपाली काँग्रेस इटहरीका उपसभापति बालकृष्ण विष्टले छुट्टै भेलाको आयोजना गरेका छन् । उपमहानगर सभापति तथा मेयर हेमकर्ण पौडेलले बेवास्ता गरेको र समन्वय नगरेको भन्दै उनले समूहको भेला बोलाएका हुन् ।
इटहरीको लायन्स क्लबको हलमा आयोजित कार्यक्रममा उनकै विष्ट समूहका पदाधिकारी तथा सदस्यहरू उपस्थित भएका थिए । १४ औँ अधिवेशनमा उपमहानगर सभापतिका प्रत्याशी उम्मेदवार विकास केसीको सहभागितामा भएको कार्यक्रममा अधिकांश वक्ताहरूले नगर समितिको कामकारबाहीको विषयमा कुरा उठाए ।
वडा नम्बर ३ को वडाध्यक्षको उम्मेदवार रहेका उनी पराजित भएका थिए । नेपाली काँग्रेसकै बागी उम्मेदवारको कारण आफू पराजित भएको भन्दै उनीहरूलाई कारबाही हुनुपर्ने उनको माग छ । चुनावमा पराजित उम्मेदवारको आत्मबल बढाउन समीक्षा बैठक बोलाउनुपर्ने उनको भनाई छ । उपमहानगर समितिमा गुटबन्दी हाबी भएको भन्दै विष्टले आगामी चुनावमा एकजुट भएर लाग्नुपर्ने धारणा राखे ।
हाल इटहरी काँग्रेसका सभापति पौडेल मेयरमा निर्वाचित भएपछि उपसभापति कोविदजंग कार्कीले कार्यवाहक सभापतिको भूमिका निर्वाह गरिरहेको छन् । कार्कीले केही दिन अगाडी कोषाध्यक्षमा सुशीला चौधरीलाई नियुक्त गरेपछि अर्का उपसभापति विष्ट पक्षले असन्तुष्टि जनाउँदै आएको छ । विधानमा सभापतिले सर्वसम्मत बहुमतको आधारमा कोषाध्यक्ष तोक्ने प्रावधान भए पनि कार्यवाहक सभापतिले एकलौटी गरेको उनीहरूको तर्क छ ।
महाधिवेशन प्रतिनिधि समेत रहेका केसीले पार्टी विधान अनुसार चल्न नसकेको आरोप लगाए । चुनावमा धेरै वडा गुमाउनु दुखद भएको भन्दै चुनावी समीक्षा जरुरी रहेको उनले बताए । कोषाध्यक्ष नियुक्तिमा मनोमानी भएको र विधानको पालना नगरिएको उनको ठहर छ । उपमहानगर समितिमा कार्यसम्पादन समिति बनाउन विलम्ब गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
उता कार्यबहाक सभापति कार्कीले भने आफूलाई आज भएको कार्यक्रमबारे कुनै जानकारी नभएको बताए । फेसबुकमा सूचना हेरेर आफूले थाहा पाएको तर काँग्रेसको आधिकारिक कार्यक्रम नभएकाले चासो नदिइएको उनको भनाई छ । इटहरी काँग्रेस विधान सम्मत हिसाबमै चलिरहेको र रचनात्मक सहकार्यका साथ पार्टीलाई एक ढिक्का बनाएर लगिने उनले प्रस्ट पारे ।
कार्यक्रममा प्रदेश महाधिवेशन प्रतिनिधि सुमित थापा, भविन खड्का, २० नम्बर वडाका वडाध्यक्ष मणिराम श्रेष्ठ, केन्द्रीय महाधिवेशन प्रतिनिधि भीम बहादुर पौडेल, प्रदेश १ समितिका सदस्य दीपक गौतम लगायतको उपस्थिति थियो ।