धरान : आर्थिक वर्ष सकिन लाग्दा समेत महासङ्घले स्थानीय सरकारद्वारा प्रदान गर्दै आएको फेलोसिपका विषयमा महासङ्घले चासो नदिएको भन्दै प्रेस चौतारीले गम्भीर आपत्ति जनाएको छ ।
पत्रकारको लेखनवृत्तिका लागि प्रत्येक वर्ष धरान उपमहानगरपालिकाले दिँदै आएको बजेट फ्रिज हुने अवस्था आइसक्दा पनि महासङ्घले त्यसतर्फ महासङ्घको ध्यान जान नसकेको भन्दै पत्रकार सङ्गठन प्रेस चौतारी नेपाल धरान नगर कमिटीले महासङ्घलाई ज्ञापन पत्र बुझाएको छ।
चौतारी धरान नगर कमिटीका अध्यक्ष रोशन दाहालको नेतृत्वमा गएको पत्रकारको टोलीले ज्ञापन पत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घ सुनसरीलाई बुझाइएको ज्ञापन पत्रको बोधार्थ धरान उपमहानगरपालिका, नेपाल पत्रकार महासङ्घ, प्रदेश कमिटी तथा महासङ्घको केन्द्रीय कार्यालयलाई बोधार्थ बुझाएको छ ।
ज्ञापन पत्रमा भनिएको छ, "पत्रकारको लेखनवृत्तिका लागि प्रदान गरिँदै आएको फेलोसिप र पुरस्कारको बजेट आर्थिक वर्ष सकिन लाग्दा पनि महासङ्घ सुनसरीबाट कुनै पहल नहुँदा बजेट फ्रिज हुन लागेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । श्रमजीवी पत्रकारहरूलाई आर्थिक सबलता, क्षमता विकास तथा स्थानीय सरकारको प्रोत्साहनको रूपमा प्रदान गर्ने फेलोसिप कार्यक्रमलाई समयमै सञ्चालन गर्न नसक्नु नेपाल पत्रकार महासङ्घको उद्देश्यप्रति नै प्रश्न चिन्ह खडा भएको छ ।"
चौतारी धरान नगर कमिटीका अध्यक्ष रोशन दाहालले पत्रकारले अवसरको रूपमा प्राप्त गर्दै आएको फेलोसिपमा महासङ्घ उदासीन हुनु श्रमजीवी पत्रकारका लागि राम्रो कुरा नभएको बताए । उनले उपमहानगरपालिकाले प्रदान गर्दै आएको पुरस्कार तथा फेलोसिपको रकम विनियोजन गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ सुनसरीकै कार्यालयमा पुगेर बुझाइएको ज्ञापन पत्रमा चौतारीका केन्द्रीय सदस्य सन्तोष काफ्लेको समेत सहभागिता रहेको थियो ।









































































