धरान : धरान उपमहानगरपालिकामा स्थानिय तहको निर्वाचन पछिको आज पहिलो कार्यपालिका बैठक बस्दैछ ।
जेठ ८ गते मेयर उपमेयर विजयीको घोषणा पछि आज पहिलो कार्यपालिका बैठक बस्न लागेको हो। आज बिहान ११ बजे देखि कार्यपालिका बैठक सुरु हुने धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले जानकारी दिए ।
निर्वाचित भएपछि विभिन्न पालीकाहरुमा तुरुन्त कार्यपालिका बैठक बसेर विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरिसकेको सन्दर्भमा धरानमा भने आज मात्रै कार्यपालिका बैठक बस्न लागेको हो । आजको बैठकबाट निकै महत्त्वपूर्ण प्रस्तावहरू माथि निर्णय हुने बताइएको छ ।
नेकपा एमालेको बहुमत रहेको धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट विजयी बनेका मेयर हर्कराज राईले आजको कार्यपालिका बैठकमा धरानको विकास, समृद्धि र विभिन्न मुद्दाहरूलाई सम्बोधन गर्ने एजेन्डाहरू प्रस्तुत गर्ने र सो एजेन्डाहरू माथि घनिभूत छलफल पछि निर्णय हुने धरानवासीको विश्वास रहेको छ।
निर्वाचित भएको घोषणा भएको १५ दिन पछि बस्दै गरेको यो पहिलो कार्यपालिका बैठकले आगामी आर्थिक वर्षको बजेट, विभिन्न समिति गठन र उपमहानगरपालिकाको प्रवक्ता तोक्ने लगायतको निर्णय हुन सक्ने बताइएको छ ।
विगतका कार्यपालिका बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश दिइँदैन थियो । तर यस पटक मेयरमा निर्वाचित भएपछि मेयर हर्क साम्पाङले सबै सञ्चारकर्मीहरूलाई बैठकको प्रत्यक्ष प्रसारण गर्न दिने बताएका छन् । नियमतः आन्तरिक बैठक सकेपछि निर्णयहरू सार्वजनिक गर्ने चलन रहेको थियो । तर आजको कार्यपालिका बैठक कसरी हुन्छ यसबारेमा आफू अनभिज्ञ रहेको धरान उपमहानगरपालिकाका एक कर्मचारीले बताए ।








































































