कटहरी : आसन्न स्थानीय तहको निर्वाचन अन्तर्गत मोरङको कटहरी गाउँपालिकामा काँग्रेसबाट अध्यक्ष र उपाध्यक्ष सहित सबै पदमा एकल उम्मेदवारी परेको छ । 

अन्यत्र गठबन्धन भएपनि कटहरीमा भने काँग्रेस उम्मेदवार एक्लैले अधिकांश पदमा एकल मनोनयन दर्ता गराएका छन् । 

आगामी वैशाख ३० गते स्थानीय चुनाव हुँदै छ । कटहरी गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार देवराज चौधरीले चुनावी प्रचार अभियानलाई तीव्रता दिइएको बताए । उनले भने,“विकास निर्माण साथै जनताको आवश्यकता अनुसार हामी काम गर्ने योजनासाथ अघि बढेका छौ ।” चौधरीले आदिवासीको बाहुल्यता रहेको कटहरीमा स्थानीय आवश्यकता र मागअनुसार विकास निर्माणका काम अघि बढाइने बताए । 

गाउँपालिकामा घरदैलो अभियानमा व्यस्त रहेका चौधरीले आफूले जितेर आएपछि गाउँपालिका बासीले महसुस गर्ने गरी काम गर्ने दाबी गरे ।

उनले विकास निर्माण साथै स्वास्थ्य शिक्षा क्षेत्रमा जनतालाई प्रत्यक्ष लाभ हुने खालका काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्षका उम्मेदवार चौधरीले गाउँपालिकामा सञ्चालन भएका पुरा नभएका योजनाहरू पूरा गरिने बताएका छन् । उनले भने,“जनतासँगको छलफलमा आगामी योजनाहरू ल्याउने छु । सबै नगरबासीहरुसम्म स्वास्थ्यको पहुँच पुर्याउने छु ।” उनले महानगरपालिकाको छेवैमा भएर पनि कटहरी धेरै हिसाबले पछि परेको भन्दै स्वास्थ्य क्षेत्रको विकासमा काम गर्ने बताए । 

उनले  धेरै गफ भन्दा पनि आफूले काम गरेर देखाउने बताएका छन् । आफ्नो प्रतिबद्धता अनुसारको काम गर्ने र छोरी शिक्षाको लागि समेत सामुदायिक विद्यालय सुधारको लागि काम गर्ने उनले बताए ।