धरान : प्रदेश नंं. १ मन्त्रिपरिषद्को सोमबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गर्ने सहित यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । 

प्रदेश नं. १ सरकारका नवनियुक्त प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेका अनुसार, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षलगायत सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरेको हो । बैठकले पाँचथरका डा. पूर्ण लक्सामलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । लक्साम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की (सङ्खुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अन्जु खड्का (मोरङ)लाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री घिमिरेले बताए ।

त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिवलाई हटाउने निर्णय गरेको छ । 

यसैगरी बैठकले सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । आज बसेको बैठकले स्मृति प्रतिष्ठान, फाउन्डेसन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।