इटहरी : नेपाली काँग्रेस प्रदेश १ को बैठकले संसदीय बोर्ड गठन गरेको छ । विराटनगरमा सोमबार बसेको प्रदेश १ कार्यसमितिको पूर्ण बैठकले सर्वसम्मत बोर्ड गठन गरेको हो ।
स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै समिति गठन भएको काँग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले बताए । स्थानीय तह अन्तरगत उपमहानगरपालिका सम्मको उम्मेदवार छनौटको अधिकार पाएको प्रदेश समितिले संसदीय बोर्ड मार्फत टिकट वितरण गर्ने भएको छ । सोही अनुसार बोर्ड गठन भएको हो ।
प्रदेश सभापति उद्धव थापा संयोजक रहेको बोर्डमा प्रदेश सभापतिमा पराजित गुरुराज घिमिरे समेत सदस्य रहेका छन् । त्यससँगै शेखर चन्द्र थापा, सिजन गुरुङ, जितेन्द्रसिंह ठकुरी, उत्तम चौलागाई, मदन संगौला, रेगिना भट्टराई सर्वसम्मत सदस्य चयन भएका छन् ।
दुई महामन्त्री सचिव रहने गरी बनेको बोर्डमा प्रदेश कार्यसमितिका बाकी पदाधिकारी पदेन सदस्यको रूपमा रहने छन् । प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला समेत पदेन सदस्यको भूमिकामा छन् ।
संसदीय बोर्ड गठन भएसँगै पालिका र जिल्लाको सिफारिसको आधारमा उम्मेदवार तय गर्ने बाटो खुल्ला भएको थापाले बताए । त्यस सँगै विभिन्न १५ वटा विभाग गठन भएका छन् । हाललाई ३ जना संयोजकले मात्र विभागको जिम्मेवारी पाएको बताउँदै उनले बाकी संयोजकले पनि चाडै विभागको जिम्मेवारी पाउने बताए ।
युवा तथा खेलकुद विभागमा सुरज राई, सहकारी विभागमा चन्द्रा खड्का भट्टराई, भौतिक पूर्वाधार विभागमा इन्द्र लिम्बु र गैर सरकारी संस्था विभागमा सुमन परियार चयन भएका छन् । बाकी ११ जना संयोजकहरूको विभागको टुङ्गो लाग्न बाकी रहेको महामन्त्री थापाले बताए ।
त्यस सँगै जिल्ला सभापतिहरू, भातृ तथा सुवेच्छुक संस्थाका सभापतिहरू सहितको निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय भएको उनले बताए ।








































































