झापा : स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखले लोकप्रियता कमाउनकै लागि विभिन्न घोषणा गर्न थालेका छन् ।
आफ्नो कार्यकाल भर खासै काम नगरेको भनेर आलोचित बनेका जनप्रतिनिधि अहिले आएर भने लोकप्रिय निर्णय भन्दै विभिन्न घोषणामा ब्यस्त हुन थालेका छन् । यसैको कान्छो प्रतिनिधि पात्रका रूपमा उर्लाबारीका नगर प्रमुख खड्ग फागो पनि परेका छन् । उनले हिजो देखी सरकारी सेवा सुविधा सबै फिर्ता गरेको घोषणा नै गरेका छन् ।
पार्टीका कार्यकर्ता, जनप्रतिनिधि, सर्वसाधारणलाई समेत राखेर पत्रकारका बिच नगर प्रमुख फागोले चैत्र २० गते देखि सबै सेवा सुविधा नलिने प्रतिबद्धता नै व्यक्त गरेका छन् । उनले आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको सरकारी गाडी समेत फिर्ता दिएको घोषणा गरे ।
उनले आफूले मात्र हैन सबै जनप्रतिनिधिहरूलाई आफूले खाई पाई आएको सबै सेवा सुविधा, तलब भत्ता, सवारी साधन फिर्ता गर्न निर्देशन समेत दिए । नगर प्रमुख फागोले चैत र वैशाख दुई महिनाको सेवा, सुविधा, तलब, भत्ता सबै रोक्न कार्यकारी प्रमुखलाई निर्देशन समेत दिएका छन् । आफ्नो सहित उपमेयर, वडाध्यक्ष, वडा सदस्य सबैको रकम भुक्तानी नगर्न लेखा प्रशासनलाई समेत उनले निर्देशन दिईसकेको जानकारी गराएका छन् ।
नगरप्रमुखको यस्तो निर्णय चुनाव आउने बेलामा आएका कारण धेरैले भने मेयरको यो घोषणा सस्तो लोकप्रियताको लागि मात्रै भएको टिप्पणी गरेका छन् ।








































































