झापा : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफू चर्चा कमाउनका लागि मात्रै नभई काम गरेरै देखाउन राजनीतिमा आएको बताएका छन् । 

झापाको दमक स्थित हिमशिखर टेलिभिजनको नियमित कार्यक्रम हिमशिखर टक सो मा बोल्दै उनले यस्तो बताएका हुन् । जनमत पार्टीमा राउत बाहेकका अनुहारको चर्चा राष्ट्रिय स्तरमा समेत नभएको विषयमा सोधिएको प्रश्नमा उनले आफूहरू अहिले बामे सर्दै गरेको र क्रमशः अन्य अनुहारहरूलाई पनि जनताले देख्ने उनको भनाइ थियो । 

उनले भने, “जनमत पार्टीको आफ्नो कार्ययोजना छ । तर पछिल्लो समय जनमत पार्टी  चर्चामा आउनुका मुख्य दुई कारण छन् । पहिलो, भ्रष्टाचारविरुद्धको विद्रोह । दोस्रो, किसान आन्दोलन ।” आफूहरू यही दुई मुद्दालाई स्थापित गराउन निरन्तर लागि परेको उनले बताए । 

किसानका पक्षमा गरिएको आन्दोलन किन हिंसात्मक भयो ? भन्ने प्रश्नमा डा.राउतले भने, “हामीले शान्तिपूर्ण आन्दोलन गर्दै गर्दा प्रहरीले दमन गरेपछि प्रतिकार गरेको हो । हामीले हिंसा रोजेका होइनौँ ।”

लाठी र भाला लिएर सडकमा उत्रँदा कसरी शान्तिपूर्ण आन्दोलन मान्ने भन्ने जिज्ञासामा डा. राउतले किसानको जे पहिचान हो त्यही हात हातमा लिएर आन्दोलन गरेको हो । त्यसलाई गलत ढङ्गले व्याख्या गरिएका कारण विवादास्पद बनेको उनको भनाइ छ । आफूहरू भ्रष्टाचार विरुद्ध र किसानको हक हितका लागि अझै पनि निरन्तर आन्दोलनमै रहेको र अहिले आएर आन्दोलनको स्वरूप मात्रै फेरिएको डा. राउतले बताएका छन् ।