इटहरी  : प्रदेश १ सरकारले अनावश्यक मन्त्रिमण्डल बिस्तार गर्न लागेको भन्दै नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले विरोध जनाएको छ ।

काठमाडौँ बाट विराटनगर विमानस्थल अवतरण हुने क्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाएका हुन ।विमानस्थलबाट सिधै इटहरी पुगेका उनलाई इटहरीमा पनि  अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाए ।

प्रदेश १ मा मन्त्रीहरू थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको निर्वाचनमा समयमै नगरेको भन्दै कालो झण्डा देखाएको अनेरास्ववियुका नेता जीवी गजलले बताए । कालोझण्डा देखाउन सडकमा उत्रिएका कार्यकर्तालाई प्रहरीले रोकेको थियो ।

नालायक सरकार मुर्दावाद, भ्रष्ट सरकार मुर्दावाद, मन्त्रालय फुटाउन पाइँदैन लगायतका नारा लगाउँदै कार्यकर्ताले मुख्यमन्त्रीको बाटो छेक्ने प्रयास गरेका थिए ।

प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन सहित पारित गर्दै मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोही निर्णय बमोजिम प्रदेश १ मा तत्काल कायम रहेका ७ मन्त्रालयलाई हाल १२ वटा मन्त्रालयमा विभाजन गरिने भएको छ ।