धरान : नेपाली काँग्रेस धरान उपमहानगर समितिले पार्टीलाई जनस्तरमा बलियो बनाउन वडा स्तरमा पार्टीको सङ्गठन विस्तार गर्न सक्रियता बढाएको छ।

सभापति श्याम पोख्रेलले दुई साता अघिदेखि वडा स्तरमा पार्टीको सङ्गठन विस्तार गर्न थालिएको जानकारी दिए । मङ्गलवार नगर सभापति पोख्रेलकै प्रमुख आतिथ्यतामा धरान वडा नं. ८ का शहीद रत्न मार्ग, बम्जन टोल र वरपीपल चौकमा सङ्गठन बिस्तार गरेको हो। काँग्रेसले अन्तरक्रियासँगै धरानको सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै विकास निर्माण कार्यमा सक्रियता बढाउने जनाएको छ।

काँग्रेस धरान उपमहानगर समितिका सचिव हिमाल श्रेष्ठले उपमहानगरपालिका अन्तर्गतका २० वटै वडाका विभिन्न टोलहरूमा टोल कमिटी गठन गर्दै पार्टीको सङ्गठन बिस्तार गरिने बताए । उनका अनुसार हालसम्म वडा नं. ५, ८ र १५ मा टोल कमिटी विस्तार अभियान सम्पन्न भएको छ । उनले फागुन मसान्तभित्र धरानमा टोल कमिटी विस्तार गरिसक्ने बताए।

पार्टीलाई जनस्तरमा बलियो तथा मजबुत बनाउन नेपाली काँग्रेस धरानले सक्रियता बढाएको उनले जानकारी दिए । साथै, सचिव श्रेष्ठले आउँदै गरेको निर्वाचनमा पार्टीलाई सफल बनाउनका निम्ति टोल टोलमा पुगेर सङ्गठन विस्तार गर्न थालिएको बताए।