झापा : झापाको दमकस्थित मालपोत कार्यालय अधिकृत विहीन हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

कार्यालय प्रमुखसहित पाँच जना अधिकृत नहुँदा दैनिक कार्यसम्पादन प्रभावित हुन पुगेको हो । कार्यालय प्रमुख तारानाथ दंगाल र अन्य चार जना अधिकृत एकैसाथ कार्यालयमा नहुँदा नायव सुब्बाको भरमा सञ्चालन गर्नुपरेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख दंगाल एक साता अघि काजमा मन्त्रालय तानिएका छन् भने अन्य चार अधिकृत यस अघि नै रिक्त रहेको बताइएको छ । चार अधिकृत मध्ये दुई जना मुद्दाका कारण निलम्बनमा र अन्य दुई अन्यत्र काजमा गएपछि समस्या हुँदै आएको बताइएको छ ।

कार्यालय प्रमुखसहित अधिकृत नहुँदा नियमित कामकाज गर्न मालपोत कार्यालय दमक नायव सुब्बाको भरमा सञ्चालन हुँदै आएको छ । अधिकृत नहुँदा जग्गाको जटिल प्रकृतिका कामका सेवाग्राहीहरू भने मर्कामा परेका छन् ।

मालपोत कार्यालय दमकले जिल्लाको माई पश्चिम क्षेत्र बासीको जग्गासम्बन्धी सरकारी सेवा उपलब्ध गराउँदै आएको छ।