धरान : सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस अवसरमा नेपाली काँग्रेस धरान-१७ को अगुवाइमा अन्य दलहरूको सहभागितामा धरान-१७ स्थित रेल्वे चौकमा सहिदहरू प्रति सम्झना गर्दै दीप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम गरिएको छ।

स्थानीय निर्वाचन २०७४ नेपाली काङ्ग्रेसबाट धरान-१७ का वडाध्यक्षका प्रत्याशी नारद राईले आगत र विगतका सारा समस्या र चुनौतीहरूलाई भुलेर वीर सहिदहरू सम्झना एवं सम्मान गर्दै श्रद्धा सुमन अर्पण गर्नुपर्ने बताएका छन्। उनले दलहरूबिच रहेको मतभिन्नताहरूलाई कम गर्दै एक अर्काका बिचारहरूलाई सम्मान गर्दै देश विकासमा सहमति र सहकार्यको विकल्प नरहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेता पर्वत सन्जेलले दीप प्रज्वलन गर्दै सुख, शान्ति र समृद्ध नेपालको कामना गरेका छन्। उनले वीर सहिदहरूलाई वर्षमा एक दिन मात्र सम्झना नगरेर सहिदहरूले देखाएको बाटो आत्मसाथ मात्र गरे नेपाल समृद्धिको दिशामा अगाडी बढ्न धेरै समय कुर्न नपर्ने बताएका छन्।

नेपाली काँग्रेस धरान-१७ का सभापति सुरज कार्कीको संयोजनमा भएको सहिद स्मरण कार्यक्रममा नेकपा माओवादीका नेता पर्वत सन्जेल, नेपाली काङ्ग्रेस धरान नगर कोषाध्यक्ष पञ्चकला राई, नगर सदस्यहरू रबिन राई, सुविक्षा राई लगायत स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरू र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।