झापा : पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिएको भनेर पृथ्वी नारायण शाहका अनुयायीहरूले सरकारकै चर्को विरोध गरिरहेको वेला कनकाई नगरपालिकाले भने सबैको मन जित्ने काम गरेको छ।

३०० औ पृथ्वी जयन्तीको अवसर पारेर कनकाई नगरपालिकाले पृथ्वी नारायण शाहको पुर्णकदको सालिकको आज शिलान्यास गरेको छ।

नगरपालिकाको गेटमा निर्माण गर्न लागिएको सालिकको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु प्रसाईँ र प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले विशेष कार्यक्रमका बिच सालिकको शिलान्यास गरे ।

नगरपालिकाको करिब १२ लाख रुपैयाँको लागतमा सालिक निर्माण गर्न लागिएको र आगामी प्रजातन्त्र दिवसको दिन पारेर सालिकको अनावरण गरिने कनकाई नगरपालिका प्रमुख पोखरेलले बताए । नगरपालिकामा पस्ने जोकोही सेवाग्राहीलाई राष्ट्रिय भावनाले अभिप्रेरित गरोस् र कतिपय पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू कर्मचारीहरूका लागि समेत मार्गदर्शन गर्ने हुँदा नगरपालिकाले शाहको सालिक निर्माण गरिएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए।

सालिक शिलान्यास कार्यक्रममा नगरपालिकाका वार्ड नम्बर ४ का वडाध्यक्ष गोविन्द पौडेल, १ का वडाध्यक्ष रोशनराज पोखरेल, नेपाली काँग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाईँ, नेकपा एमालेका नगर अध्यक्ष खड्गप्रसाद प्रसाईँ, राप्रपा नेता तथा बन्द निषेधित नगरिका जिउँदो सहिद विष्णु ओली, कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जाका अध्यक्ष मिनाल तिम्सिना, पत्रकार महासङ्घका प्रदेशका कार्यसमिति सदस्य लीलाराज झापाली लगायतको उपस्थिति रहेको थियो ।

उक्त पूर्ण कदको सालिक कनकाई नगरपालिकाका चर्चित राष्ट्रिय कलाकार हिम्मत नेम्बाङ्गले बनाउँदै छन् ।