धरान : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धरान उपमहानगरपालिकामा तिलक राई मेयर भएपछि राम्रो काम भएको बताएका छन् । कम्युनिस्टको गढ तोड्दै राई विजयी भएपछि धरानको विकाशमा उल्लेख्य प्रगति भएको बताए ।

धरान उपमहानगर पार्टी कार्यालय उद्घाटन गर्ने क्रममा उनले पार्टी एकताको सङ्केत धरानले दिएको बताए । पार्टी सभापतिमा आफ्नो अन्तिम कार्यकाल भएको स्मरण गराउँदै देउवाले केही समयमै आउने तिनै तहका निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । महाधिवेशनको समयमा भएको प्रतिस्पर्धाको तुष नराखी पार्टी एकतामा जोडी दिनुपर्ने बताएका हुन् ।

धरानका मेयरले राम्रो काम गरेको बताउँदै उनले धरानबाट कम्युनिस्टको गढ भत्किन सुरु भएको बताए । अब पनि धरानमा काँग्रेसलाई जिताउन लागिपर्ने उनले आग्रह गरे ।

पार्टी कार्यालय उद्घाटन गरेसँगै फोहोरमैला प्रशोधन केन्द्रको उद्घाटन गरेका उनले बसपार्कको अवलोकन गरेका छन् । त्यसपछि मेयर राईको घरमा खाना खाएर धरान उत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ।