धरान : नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा १ दिने भ्रमणमा मंगलबार धरान आउने भएका छन्। विभिन्न ४ कार्यक्रममा सहभागी जनाउन उनी धरान आउन लागेका हुन्।

उनीसँगै अन्य अतिथिको बारेमा अझै टुङ्गो लाग्न सकेको छैन। १० बजे देखी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालीका मिलाइएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए।

उनका अनुसार सर्वप्रथम नेपाली काँग्रेस धरान नगर समितिको कार्यालय उद्घाटनको लागी समय मिलाइएको छ। त्यसपछि सिधै उपमहानगरपालिकाले २६ करोड लगानीमा निर्माण गरेको फोहोर मैला प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

त्यही बाटोमा धरानको निर्माणाधीन बसपार्क रहेकाले त्यसको उपलब्धि जानकारी लिनको लागी समय मिलाइएको उनको भनाई छ। बसपार्क अवलोकन पछि मेयर राईको निवासमा खानाको प्रबन्ध मिलाइएको छ।

खानाकै समयमा सुनसरी काँग्रेसका नेताहरू सँग भेटघाटको व्यवस्था मिलाइएको उनको भनाई छ। खानापछि धरान महोत्सवमा सहभागी भएर प्रधानमन्त्री देउवा दिउँसो ४ बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको राईले जानकारी दिए।