धरान : नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय समिति सुनसरी १ 'क' को पहिलो बैठक सम्पन्न भएको छ । 
शनिवार धरान वडा नं. २ स्थित पार्टी कार्यालयमा समितिका सभापति अनिल श्रेष्ठको अध्यक्षतामा  बसेको पहिलो बैठकले नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय समिति सुनसरी १ 'क' को कोषाध्यक्ष पदमा रमिना सुब्बालाई चयन गरिएको सचिव युवराज शंकरले जानकारी दिए ।

उनले सभापति पदका प्रत्याशी उम्मेदवार मदन ढकाललाई विधानको धारा ६५ अनुसार वरिष्ठ सदस्य पदमा चयन गरिएको बताए । यस्तै, पहिलो बैठकले पदाधिकारी तथा सदस्यहरूबाट मासिक रूपमा लेवी उठाउने निर्णय समेत गरेको छ ।

कार्यसमितिलाई आर्थिक रूपमा सबल बनाउन वा विभिन्न कार्यक्रमहरू आयोजना गर्न सहज होस् भन्ने उद्देश्यले लेवी उठाउने निर्णय गरिएको सचिव शंकरले बताए । यस्तै, बैठकले नगर कार्यसमिति र १५ वटा वडा समितिलाई पत्राचार गरी मतदाता नामावली भर्न मतदाताहरूसँग निरन्तर सहकार्यमा रहेर सहयोग अपिल गर्ने निर्णय गरेको छ।

बैठकमा विभिन्न कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू विभिन्न सामाजिक सङ्घ संस्थामा विजयी भएका बधाई समेत दिइएको थियो भने १४ औँ महाधिवेशन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने काँग्रेसका कार्यकर्ता, क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधिहरूलाई धन्यवाद समेत दिइएको थियो।