चतरा : नेपाली काँग्रेस सुनसरी क्षेत्र नं १ प्रदेश सभा कार्य समिति 'ख' को पहिलो बैठक शनिवार सम्पन्न भएको छ। वराहक्षेत्र वडा नं ५ को पार्टी कार्यालयमा सम्पन्न पहिलो बैठकले समितिमा पदाधिकारी बिस्तार समेत रहेको छ भने प्रवक्ताको जिम्मेवारी समेत तोकेको छ।

समितिका सभापति मुरारी प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले कोषाध्यक्ष पदमा धरान-११ का प्रदेश महाधिवेशन प्रतिनिधि हरि थापालाई चयन गरेको छ। त्यस्तै समितिका सह-सचिव रोहित काफ्लेलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। वराहक्षेत्र-५ निवासी काफ्ले त्रिवि नेबिसंघ सचिव समेत हुन्।

समितिको पहिलो बैठकले १४ औँ महाधिवेशन सफल पार्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने काँग्रेसका कार्यकर्ता, क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधिहरूलाई धन्यवाद समेत व्यक्त गरेको प्रवक्ताको जिम्मेवारी पाएका काफ्ले बताए। काफ्लेका अनुसार साबिक गाविसमा पुगेरै भेला मार्फत सबैलाई धन्यवाद समेत दिने निर्णय गरिएको छ।

सङ्गठनलाई थप चुस्त बनाउन र सुदृढीकरण गर्न समितिले काम गर्न र आम निर्वाचनमा काँग्रेसलाई जिताउन लाग्ने प्रशिक्षण, अन्तरक्रिया कार्यक्रमहरू गर्ने निर्णय भएको प्रवक्ता काफ्लेले बताए।