इटहरी : नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य धर्मराज निरौला नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेसँगै सुनसरी एमालेमा तरङ्ग आएको छ । उनको प्रवेश सँगै सञ्चार माध्यममा ५ सय एमाले कार्यकर्ता नेकपा एसमा गएको समाचार आएपछि एमाले तरङ्गित भएको हो ।

जिल्ला अधिवेशनको अन्तिम तयारीमा रहेको एमालेमा निरौलाको प्रवेशलाई अर्थपूर्ण हिसाबमा हेरिएको छ । लामो समय सुनसरी एमालेमा प्रभाव कायम राखेका उनले माधव नेपाल नेतृत्वको नेकपा एस रोजेपछि बहसको विषय भएको छ ।

अधिवेशनको मुखैमा निरौलाले पार्टी छाड्दा पद नपाएर असन्तुष्ट हुने कार्यकर्ताले समेत नेकपा एस रोज्न सक्ने एमाले भित्र चिन्ता थपिएको छ । भीम आचार्य निकट निरौलाको नेकपा एसको प्रवेशले सुनसरी एमाले कमजोर भएको एसका कार्यकर्ताको बुझाई छ ।

उता एमाले सुनसरी जिल्ला कमिटीले भने ५ सय कार्यकर्तासहित नेकपा एसमा प्रवेश गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष खेमराज पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एसलाई अवैधानिक पार्टी भन्दै विचारले स्खलित र पदलोलुप व्यक्तिले एमाले छाडेको आरोप लगाएका छन् ।

सधैँ एउटै पदमा बसिरहनुपर्ने, आफूलाई केन्द्र विन्दुमा राखेर न्याय र अन्याय छुट्याउने, एक कार्यकाल पद नपाउँदैमा पहाड खसे जस्तो गर्ने, आफू सरहका कमरेडहरूको विषयमा चिन्ता नगर्ने भन्दै निरौलाको आलोचना गरिएको छ । नायक जस्तो भएर ५ सय भन्दा बढी एमाले सदस्यहरू लिएर पार्टी त्याग गरेको समाचार सम्प्रेषण गर्न लगाएको पनि विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष पोखरेलले आन्दोलनको भट्टीबाट स्पात झैँ खरिएका नेता कार्यकर्ताहरूलाई यस्ता कुराले कुनै फरक नपर्ने बताएका छन् । कपोकल्पित, भ्रामक, तथ्यहीन र मनोगढन्ते समाचारको पक्षमा नलाग्न अपिल गरेका छन् ।

विज्ञप्तिमा निरौला प्रति आक्रामक देखिएका पोखरेलले एमाले कार्यकर्ताको चित्त बुझाउने प्रयास गरेका छन् । निरौलालाई कमजोर र खराब देखाएर कार्यकर्ताको मनोबल बढाउने उनको योजना देखिन्छ । पुनः जिल्ला अध्यक्षको तयारीमा रहेका बेला पोखरेलमाथि एमाले कमजोर बनाएको आरोप लाग्ने भएकाले निरौलालाई खराब रूपमा प्रस्तुत गरेका हुन् ।

संविधानसभा सदस्यसमेत रहेका नेता निरौला नेकपा एमालेको गएको १० औँ महाधिवेशन अघि केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज थिए । ११ औँ महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य बन्न सकेनन् । सुनसरीमा जेठ २ अघिको एमाले पुनर्जीवित हुनुपर्ने माग राख्दै आएका उनले अन्ततः पार्टी परित्याग गरेका छन् । सुनसरी क्षेत्र नम्बर १ बाट अधिकांश एमाले कार्यकर्ता प्रवेश गराउने नेकपा एसको तयारी छ।

pr-uml