इटहरी : इटहरी चेम्बर अफ कमर्सको पहिलो अध्यक्षमा यज्ञ बहादुर कटुवाल (गणेश) चयन भएका छन् ।
शनिवार भएको विशेष साधारण सभाले कटुवालको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो । यसअघि तारा कटुवालको अध्यक्षतामा भएको तदर्थ समितिले साधारण सभाको आयोजना गरी नयाँ समिति चयनको बाटो खोलेको हो ।
तदर्थ समितिको विशेष साधारण सभा मार्फत नयाँ कार्यसमिति विस्तार गरिएको नव निर्वाचित अध्यक्ष कटुवालले जानकारी दिएका छन् ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नवराज कार्की, उपाध्यक्षमा कृपाराम सिटौला, होमराज दाहाल, भोला निरौला, तेजेस भण्डारी र महेश घिमिरे रहेका छन् । यसै गरी समितिको महासचिव मिलन कार्की, सचिव सुवास बस्नेत, दुर्गा प्रसाद थापा र गणेश खड्का रहेका छन् ।
सह सचिवमा अविनाश श्रेष्ठ,सरदराज तामाङ, राजु खड्का रहेका छन् भने कोषाध्यक्षमा उपेन्द्र घिमिरे चयन भएका छन् ।
कार्यसमितिलाई योजनाबद्ध ढङ्गले अगाडी बढाउने बताउँदै कटवालले विशेष गरी चेम्बरको विस्तार गर्दै व्यवसायीको हक र हितमा काम गर्ने बताए । खास गरी सांगठानिक रूपमा पनि यसका बस्तुगत सङ्घहरू विस्तार गर्न लागिने उनको भनाई छ ।
इटहरी व्यापारी र व्यवसायीहरूको केन्द्रको रूपमा विकासित हुँदै गएको तर व्यावसायीक सुरक्षा र हितका लागि भने काम नभएको अवस्थामा संस्था स्थापना गर्नु परेको कटुवालले बताएका छन् ।
विभिन्न भागमा बाँडिएका व्यापारी तथा व्यवसायीलाई एक ठाउँमा ल्याउँदै व्यवसायीक सुरक्षा र हकहितका लागि काम गर्ने नवगठित कार्य समितिका कोषाध्यक्ष उपेन्द्र घिमिरेले जानकारी दिए ।
“पछिल्लो समय बजारमा नयाँ सोच र शैलीमा काम गरिरहेका उद्यमी तथा युवा व्यवसायीहरू सँग संस्थाले काम गर्नेछ” उनले भने ।








































































