इटहरी : नेकपा एमाले सुनसरीमा भीम आचार्यको प्रभाव कमजोर बन्दै गएको छ । एकपछि अर्का सहयोगी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न थालेपछि उनी कमजोर बनेका हुन् ।

कुनैबेला नेकपा एमालेका बादशाहको रूपमा चिनिएका आचार्य अहिले शिथिल भएका छन् । उनी निकट नेताहरूले साथ छाडेपछि उनको प्रभाव कमजोर भएको हो । उनको दाहीने हातको रूपमा चिनिएका एमाले पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य धर्मराज निरौलाले एमाले परित्याग गरेका छन् । उनी सहित आचार्य निकट नेताको समूह नेकपा एसमा प्रवेश गरेको हो ।

एमाले परित्याग गरेसँगै उनी नेकपा एसको पोलिटव्युरो सदस्यको जिम्मेवारीमा पुगेका छन् । बिहीबार नै एमाले छाडेका उनलाई केन्द्रीय तहको जिम्मेवारी दिइएको छ । एमाले छाडेसँगै उनले कम्युनिस्ट पार्टीको स्थापनादेखि निरङ्कुशता विरुद्ध लड्दै अनेक आरोह अवरोहबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेको बताए । आन्दोलनबाट प्राप्त उपलब्धिलाई केपी शर्मा ओलीले निजी कम्पनीका रूपमा निजीकरण गरी दक्षिणपन्थी भासमा लगेकाले विद्रोह गरेको उनको भनाई छ ।

सुनसरी जिल्लामा एमाले भित्र रहेका सयौँ नेता कार्यकर्ताहरू नेकपा एसमा समाहित हुने जानकारी दिए । सुनसरीमा नेकपा एसलाई प्रभावशाली पार्टी बनाउन आफूहरू लागिपर्ने उनले सुनाए ।

नेकपा एमालेको पौष २३ बाट सुरु हुने जिल्ला अधिवेशनको समयमा नै धेरै कार्यकर्ता प्रवेश गराउने नेकपा एसको तयारी छ । एमाले भित्रको आन्तरिक विवाद र असन्तुष्टिको फाइदा लिने एसले रणनीति बनाएको छ । सोही बमोजिम निरौलाको प्रवेश अर्थपूर्ण रूपमा हेरिएको छ ।