झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिने कार्यक्रम सहभागी हुन आज गृह जिल्ला झापा आँउदैछन् । एमाले नेता एवं ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाका अनुसार विराटनगर एयरपोर्ट हुँदै अध्यक्ष ओली आज मदन भण्डारी स्मृति प्रतिष्ठानको २० औँ साधारण सभा उद्घाटन गर्न मोरङको उर्लाबारी पुगेका छन् ।

त्यसपछि जिल्ला पार्टी कार्यालयले झापा सिटी सेन्टरमा आयोजना गरेको सम्मान गर्ने कार्यक्रममा सहभागी हुन झापाको बिर्तामोड आइपुग्नेछन् । एमाले जिल्ला कमिटी झापाले केन्द्रीय अध्यक्ष ओली देखि हालै निर्वाचित पार्टीका वडा अध्यक्षसम्मलाई सम्मान गर्ने कार्यक्रम राखेको छ ।

बिर्तामोडमै अनेरास्ववियूको सचिवालय बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य सुनिता बरालले जानकारी दिएकी छन् । आज अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र एवम् गृह नगर दमकमा बास बस्ने कार्यक्रम रहेको छ । आइतबार बिहान ओलीले साढे ९ बजे दमक बजार प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन, साढे १० बजे दमक अस्पताल भवनको निरीक्षण, साढे ११ बजे दमक ३ मा निर्माणाधीन भ्यु टावरको निरीक्षण र सुरक्षित आवास अन्तरगतका घर हस्तान्तरण गर्नेछन् । यस्तै साढे १२ बजे दमक ४ मा अपाङ्गहरूलाई ह्विल चेयर वितरण गर्ने कार्यक्रम तय भएको छ ।

दिउसो साढे २ बजे शान्ति मार्गबाट निर्माणाधीन दमक सभा हल जाने सडकको शिलान्यास र क्याम्पस मोड आम्दा सडकको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधीन क्याम्पस भवनको निरीक्षणको कार्यक्रम रहेको छ । अपराह्न ४ बजे दमकमा जारी स्वास्थ्य शिविरको समापन र दमकका सबै वडा कार्यलयहरुको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै ११ गते पनि अध्यक्ष ओली दमक मै बस्ने बताइएको छ ।

यसै गरी सोमबार बिहान ९ बजे विभिन्न पार्टी त्यागेकाहरूलाई एमालेमा स्वागत गर्ने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनेछन् । सोमबार नै साढे ११ बजे गौरादह पोखरी र कृषि क्याम्पसको निरीक्षण कार्यक्रम रहेको छ । दिउँसो साढे १२ बजे देहाती गाउँ जुरोपानीमा पार्टी प्रवेश कार्यक्रम र डोरामारी माविको निर्माणाधीन भवन निरीक्षणको कार्यक्रम रहेको थापाले बताए । दिउँसो २ बजे स्कूलचौन बजारमा पार्टीका विभिन्न कमिटीहरूले अध्यक्ष ओलीलाई बधाई तथा सम्मान ज्ञापन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधीन रणनीतिक र प्रादेशिक सडकको निरीक्षण गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिएका छन् ।